ठगी बढेपछि थाइल्याण्ड र म्यानमार जाने नेपालीका लागि ट्राभल एडभाइजरी जारी

24 December, 2024

सरकारले थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस लगायत देशमा जान चाहने नेपालीहरुका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । आकर्षक तलब सुविधाको प्रलोभन देखाएर जबरजस्ती अवैध काममा लगाइएको पाइएपछि परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरी जारी गरेको हो ।

वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्‍याइ अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरुमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरु नगर्न/नगराउन पनि मन्त्रालयले भनेको छ ।

थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक तलब र सुविधा दिने प्रलोभनहरु देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएई लगायतका मुलुकहरुमा रहेका नेपालीहरूलाई थाइल्याण्डको बैंकक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्मारको कायिन प्रान्तको म्यावडी पुर्‍याएर जबरजस्ती अवैध काममा लगाएको विषय यसअघि पनि सार्वजनिक भएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयबाट २०७९ पुस महिनामा यात्रा सम्बन्धी सूचना (ट्राभल एडभाइजरी) जारी गरेपछि उक्त क्षेत्रमा पुग्ने नेपाली नागरिकहरुको संख्यामा कमी आएको थियो ।

तर हालका दिनहरुमा मानव वेचविखन एवं अन्य अपराधिक गतिविधिहरुमा संलग्न गिरोहहरूले नेपाली नागरिकहरुलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यहरुमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिने लगायतका समस्याहरु देखिन थालेको मन्त्रालयले जनाएको छ ।

समस्यामा परेकाहरुले उद्धारका लागि नेपाली राजदूतावास याङ्गुन र बैंककमा आवेदन दिने क्रम उल्लेखनीय रुपमा बढोत्तरी भैरहेको मन्त्रालयले जनाएको छ । त्यसैले मन्त्रालयले आज फेरि ट्राभल एडभाइजरी जारी गरेको हो ।

मन्त्रालयले प्रायः सामाजिक सन्जालमा देखिने रोजगारीका नक्कली विज्ञापनको भ्रममा नपर्न, वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न, रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि कम्पनी र रोजगारदाताको बारेमा पर्याप्त जानकारी लिन पनि सबैलाई अनुरोध गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024