रोस्टरमा रहेका नेपाली श्रमिकलाई जतिसक्दो छिटो कोरिया लैजान श्रममन्त्री भण्डारीको आग्रह

10 January, 2025

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताई योङबीच शिष्टाचार भेट भएको छ।

भेटका क्रममा नेपाल र दक्षिण कोरियाचीच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे गहन छलफल भयो। त्यस्तै, इपिएस प्रणाली अन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने, सीपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउने सम्बन्धी कार्यविधि, इपिएस उत्तीर्ण भई रोस्टरमा रहेका नेपाली कामदारलाई जतिसक्दो छिटो रोजगारमा पठाउने विषयमा छलफल भएको हो।

सीप बिल्डिङ लगायत क्षेत्रमा छनोट भएका कामदारका माग सम्बोधन गर्ने, कोरिया जान सबै चरण पूरा गरी उडानका लागि पर्खाईमा रहेका नेपाली कामदारहरुलाई छिटो, सरल र सहज ढंगबाट दक्षिण कोरिया पठाउन सहजीकरण गर्नुपर्ने विषयमा छलफल भएको मन्त्रालयले जानकारी गराएको छ। 

भेटघाटका क्रममा मन्त्री भण्डारीले दक्षिण कोरिया जानका लागि परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका सबै नेपालीलाई पठाउन र आगामी दिनमा कामदारको माग सख्या बढाउनका लागि पहल गर्नुपर्ने बताए।

कोरिया भाषा परीक्षा उत्तीर्ण गरेका, तयारीमा रहेका, बिगतमा रोस्टरमा नाम परेका तर कोरिया जान नपाएका व्यक्तिहरु समेत लाई लक्षित गरी आगामी दिनमा विशेष व्यवस्था गर्नुपर्ने र सो कार्यका लागि सीप विकासमा कोरिया सरकारले सहयोग गर्नुपर्ने बताए।

दक्षिण कोरियाका राजदूतले नेपालबाट निरन्तर कामदार लैजाने, रोस्टरमा नाम समावेश भएका व्यक्तिलाई उच्च प्राथमिकताका लैजान पहल गर्ने बताए। थप नेपाली कामदार लैजाने विषयमा पनि आफू सकारात्मक रहेको बताए।

नेपाली कामदारका लागि दक्षिण कोरिया उत्कृष्ट गन्तव्य रहेको र आगामी दिनमा सीपयुक्त कामदार पठाउन सकिने समेत सम्भावना भएको बताए। सीप विकासका लागि सहकार्यका गर्ने प्रतिवद्धता पनि जनाए। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024