भिजिट भिसामा हुने मानव तस्करी नरोकिएपछि प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोली पुनः खटाउने भएको छ । विमानस्थलबाट भिजिट भिसामा दुबईमा मात्रै दैनिक २५० जनाभन्दा धेरै मानव तस्करी हुन थालेपछि ब्युरोले डेढ वर्षअघिबाटै टोली परिचालन गरे पनि अध्यागमन कर्मचारीले विरोध गरेपछि फिर्ता भएको थियो । तर, पछि अनुसन्धानमा खटिएको प्रहरीले अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी हुने गरेको फेला पारेपछि पुनः ब्युरोको टोली परिचालन गर्न लागिएको हो ।
प्रहरी निरीक्षक (इन्स्पेक्टर)को कमान्डमा खटिने टोली विमानस्थल सुरक्षाको बाहिरी घेरामा रहनेछन् । सादा पोसाकमा खटिने टोलीले भिजिट भिसामा विदेश जान लागेका यात्रुको निगरानी गर्नेछ । शंकास्पद देखिएका यात्रुलाई नियन्त्रणमा लिनेछ । अनुसन्धान अवधिसम्म उनीहरूलाई हिरासतमा राख्नेछ । टोली बुधबारदेखि खटाउने तयारी रहेको ब्युरोका प्रवक्ता एसपी भावेश रिमालले बताए । ‘विमानस्थलमा ब्युरोबाट विशेष टोली खटाउने निर्णय भएको छ । प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा टोली खटिनेछ । टोलीले भिजिट भिसामा विदेश जाने यात्रुको विशेष निगरानी गर्नेछ,’ उनले भने ।
यसअघि खटाइएको टोली अध्यागमन कर्मचारीको विरोधका कारण फिर्ता गरिएपछि प्रहरीले अनुसन्धान गर्दा अध्यागमन अधिकृत नरवीर खड्कासहितको टोली मानव तस्करीमा संलग्न रहेको अवस्थामा रंगेहात पक्राउ परेको थियो । दबाबमा रहेको सरकारले त्यसलगतै कानुन संशोधन ग¥यो, जसको उद्देश्य फर्जी कागजातका आधारमा विमानस्थलबाट हुने मानव तस्करी रोक्नु थियो । तर, विमानस्थलबाट हुने मानव तस्करी अझ संगठित ढंगले मौलाएपछि प्रहरी प्रधान कार्यालयले ब्युरोको टोली नै खटाउने निर्णय गरेको हो । यसका लागि प्रधान कार्यालयले लिखित रूपमै ब्युरोलाई ‘म्यान्डेट’ दिएको छ । यसअघि विनालिखित ब्युरोबाट विमानस्थलमा सुरक्षाकर्मी परिचालन भएको भन्दै अध्यागमनका कर्मचारीले चर्को विरोध गरेका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख एआइजी दीपक थापाले विमानस्थलस्थित संयन्त्रलाई सहयोग गर्नकै लागि टोली खटाउन खोजिएको बताए । ‘विमानस्थलमा ब्युरोको टोली यसअघि पनि खटिएको रहेछ । बिचमा फेरि फिर्ता भएको रहेछ । टोलीलाई भिजिट भिसामा हुने मानव तस्करीलाई नियन्त्रण गर्नेभन्दा पनि निगरानी गर्ने ‘म्यान्डेट’ छ । किनकि विमानस्थलबाट हुने मानव तस्करी हेर्न विमानस्थलमा राज्यका अरू नै निकाय छन् । यो विषयलाई कानुनले पनि स्पष्ट पारेको छ । त्यसबाहेक ‘रेड कर्नर नोटिस’ जारी भएकाहरूलाई ‘रिभिस’ गर्ने, सम्बन्धित तहमा बुझाउने काम त्यसले गर्छ,’ उनले भने ।
सिआइबीका अनुसार ब्युरोबाट खटिने टोली विमानस्थलस्थित प्रस्थान र आगमन दुवै विन्दुमा रहनेछन् । विशेष गरी उनीहरूले भिजिट भिसामा जाने यात्रुको निगरानी गर्नेछन् । विमानस्थलमा अहिले लागुऔषध नियन्त्रण ब्युरो, प्रधान कार्यालयमातहतको विशेष ब्युरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीसमेत खटिँदै आएका छन् ।
प्रहरीका अनुसार दुबईमा मात्रै कम्तीमा दैनिक २५० महिलाको तस्करी हुन्छ । जसका लागि प्रयोग हुने भिजिट भिसा हो । पहिला भिजिट भिसामा दुबई जानेका लागि प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको शैक्षिक प्रमाणपत्र, बैंक स्टेटमेन्ट अनिवार्य गरिएको थियो । तस्कर समूहले यस्ता कागजात नक्कली बनाएर पठाउने गरेको थियो । जसमा अध्यागमनका कर्मचारीसँग पनि सेटिङ मिलाउनुपथ्र्यो । अहिले भिजिट भिसामा जान चाहनेका लागि होटेल बुकिङ, जहाजको टिकट र भिसा भए पुग्छ । जसमा विगतमा जस्तो धेरै खर्च पनि नलाग्ने भएकाले तस्करी थप सहज भएको छ । तस्करले सहजतामा खेलेर मानव तस्करी गरिरहेका छन् ।
अन्य नाकामा पनि ब्युरोको टोली खटिने
सिआइबीका अनुसार ब्युरोको टोली विमानस्थलमा मात्रै होइन, मुलुकका अन्य नाकामा पनि खटाउने निर्णय भएको छ । विशेष गरी कोशी, मधेश र लुम्बिनी प्रदेशका मुख्य नाकामा ब्युरोका टोली खटिनेछन् । सादा पोसाकमा खटिने उनीहरूले मानव तथा मिर्गौला तस्करीजस्ता गम्भीर अपराधका घटनामा विशेष निगरानी गर्नेछन् । आवश्यक जनशक्तिको तथ्यांक संकलन भइसकेको छ । प्रधान कार्यालयबाट उपलब्ध हुनासाथ उक्त नाकामा पनि टोली खटिनेछन् । सिआइबी प्रमुख एआइजी थापाले भने, ‘ब्युरोको टोली विमानस्थलमा मात्र होइन, अन्य नाकामा पनि खटाउने निर्णय भएको छ । उनीहरूका लागि निश्चित ‘म्यान्डेट’ तोकिएको छ । सोही कार्य सम्पन्न गर्न उनीहरू नाकामा परिचालित हुनेछन् ।’