म्यानमारको मेवाडीबाट ५ नेपालीको उद्धार

25 December, 2024

आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्‍याइएका पाँचजना नेपालीको उद्धार भएको छ। ती नेपालीलाई थाइल्यान्ड हुँदै नेपाल फर्काइएको छ। एक महिलालाई आज र चार पुरुषलाई १७ डिसेम्बरमा नेपाल फर्काइएको नेपाली राजदूतावास, बैंककले जनाएको छ।

‘म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएका पाँचजना नेपाली नागरिकमध्ये चार (पुरुष) थाई सरकारी निकाय, आइओएम थाइल्यान्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा यही १७ डिसेम्बर २०२४ मा नेपाल फर्काइएको र आज २४ डिसेम्बर २०२४ मा १ महिलालाई नेपाल फर्काइएको छ,’ दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।

थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक तलब सुविधा दिने प्रलोभन देखाई नेपालीहरूलाई म्यान्मारको कायिन प्रान्तको मेवाडी पुर्‍याएर जबर्जस्ती अवैध काममा लगाउने गरिएको छ। त्यसैले सोमबार मात्रै परराष्ट्र मन्त्रालयले भ्रमपूर्ण विज्ञापन र आश्वासनमा नफस्न अनुरोध गर्दै ट्राभल एडभाइजरी जारी गरेको थियो।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो पैसा कमाउने भनेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत देशमा रोजगारीमा नजान बैंककस्थित राजदूतावासले सबैलाई अनुरोधसमेत गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024