जापान अध्यागमनको निसानामा किन पर्दैछन् नेपाली? सातामै ७ जना निकालिए

18 December, 2024

पछिल्लो समय जापान जाने नेपालीहरूको संख्या बढ्दै गएको छ। विद्यार्थी भिसा होस् वा वर्किङ भिसामै किन नहोस्, जापान जानेको संख्या बढ्दो छ। जापान पठाउन एजुकेसन कन्सल्टेन्सी, मेनपावरलगायतका एजेन्सीहरू सक्रिय छन्। 

कम्तीमा १३ लाख तिरेर जापान पुग्ने गरेका छन् नेपालीहरू। तर, त्यहाँ पुगेपछि मात्रै उनीहरूलाई थाहा हुन्छ कि सोचेजस्तो होइन रहेछ जापान। आम्दानी कम र परिवारको दबाब बढेपछि त्यहाँ पुगेका नेपालीहरू अवैध ढंगले काम गर्न बाध्य हुन्छन्। 

जापानले अध्यागमन कानुनलाई निकै बलियो बनाएको छ। विद्यार्थीहरूलाई सीमित घन्टामात्र काम गर्न तोकिदिएको छ। वर्किङ भिसामा गएकाहरूको समेत आम्दानी राम्रो छैन। जापानको राजधानी टोक्यो संसारकै महँगोमध्येको सहर हो। पारिवारिक अभाव पूरा गर्न अवैधरूपमा काम गरेपछि त्यहाँ उनीहरू अध्यागमन प्रहरीको निसानामा पर्छन्।

जापानको अध्यागमन कानुन उल्लंघन गरेर निष्कासनमा पर्ने नेपालीहरूको संख्या पनि बढिरहेको छ। गत सातामात्रै जापानको अध्यागमनले ७ जना नेपालीलाई निष्कासन गरेको छ। कानुन विपरीत जापानमा रहेका उनीहरूलाई निष्कासन गरी नेपाल पठाइएको हो। विगत २० वर्षदेखि टोक्योमा बस्दै आएका एक नेपालीका अनुसार अहिले पनि केही नेपालीहरू जापानको अध्यागमन प्रहरीको नियन्त्रणमा छन्। ‘उनीहरूलाई अध्यागमन अधिकारीहरूले निष्कासन गर्ने तयारी गरिरहेको छ,’ अन्नपूर्णसँग उनले भने।

निष्कासनमा पर्नेहरूमा साबित्री खड्का तिरुवा,  सुशन गिरी, गीता विक, बुद्धिकुमारी विक, उरुसल तामाङ लामा, मधुकर विष्ट र मनोहर ढुंगेल रहेका छन्। उनीहरू थाइ एयरवेयजको जहाजबाट काठमाडौं आइपुगेका हुन्।

अध्यागमन कानुन उल्लंघन गरेको आरोप उनीहरू निष्कासनमा परेको भनिए पनि कानुनबारे केही नखुलेको स्रोतको भनाइ छ। ‘अध्यागमन कानुन विपरीत पाइएपछि उनीहरूलाई निष्कासन गरेको भन्ने छ। तर, कानुनबारे प्रस्ट भनिएको छैन,’ स्रोतले अन्नपूर्णसँग भन्यो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024