इजरायलमा केयरगिभर लैजाने प्रक्रिया पुन: सुरु हुँदा नेपालीका लागि थप अवसर आँउछ : राजदूत पण्डित

3 Jan, 2025

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा छानिएका सहायक श्रमिक (केयरगिभर) लैजाने प्रक्रिया पुन: सुरु हुँदा नेपालीका लागि इजरायलमा थप अवसर सिर्जना हुने वातावरण बन्ने बताएका छन् । 

‘इजरायलले केयरगिभर क्षेत्रमा नेपालीलाई पहिलो प्राथमिकता दिएको छ । यो क्षेत्रमा यहाँ काम गरिररहेको केयरगिभरको कामले रोजगारदाताहरू प्रभावित बनेका छन्,’ उनले इकान्तिपुरसँग भने,‘यो क्षेत्रमा केयरगिभर आउन सुरु भएपछि इजरायलमा नेपालीको लागि थप अवसर खुल्नेछ ।’

नेपाल र इजरायलबीच दीर्घकालीन स्याहार केन्द्रमा सरकारी संयन्त्रमार्फत सहायक श्रमिक पठाउने सम्झौता छ । यो सम्झौताअनुसार दोश्रो चरणमा मापदण्ड पुगेर सूचीमा राखिएका ३ हजार १ सय जनामध्ये लक्की ड्र मार्फत २१ सय १२ जनाको छानिएका छन् । त्यसमध्ये एक हजार जनालाई पठाउन स्वास्थ्य परीक्षण भइरहेको छ ।

वैदेशिक रोजगार विभागले गत असारबाट सहायक श्रमिक पठाउने प्रक्रिया अगाडि बढाइएको थियो । तर, सुरक्षाको जोखिम बढेको भन्दै छानिएका श्रमिकको भर्ना प्रक्रिया नेपालको तर्फबाट रोकिएको थियो । ‘इजरायल लडाइँमा भए पनि यहाँ कार्यरत हजारौँ नेपाली श्रमिकले आफूलाई सुरक्षित रहेको महसुस गरिरहेका छन् । भारत, श्रीलंका, थाइल्यान्डलगायतका देशले श्रमिक पठाइरहेका छन्,’ उनले भने,‘नेपालले थप रोकेर राख्नु उपयुक्त छैन ।’

इजरायलमा हाल ६ हजार नेपालीले केयरगिभर, कृषि र होटल क्षेत्रमा काम गरिरहेको छ । इजरायलले यो वर्ष एक लाख जना विदेशी श्रमिक ल्याउने कोटा छुट्टाएको छ । ‘पहिला हामीले पाएका केयरगिभर क्षेत्रमा छनोट भइसकेका श्रमिकलाई ल्याउनुपर्‍यो । यसले अन्य क्षेत्रमा थप अवसर आउनेछ,’ उनले भने ।

अहिले इजरायलले निर्माण, कृषि, होटल क्षेत्रमा पनि श्रमिक ल्याउने योजना बनाएको छ । जसमध्ये भारतबाट १५ हजार श्रमिक ल्याउने प्रक्रिया अगाडि बढाइसकेको छ । गत वर्षको अक्टोबर ७ अघिसम्म इजरायलमा काम गर्न गाजा क्षेत्रबाट दैनिक एक लाख श्रमिक काम गर्न आउजाउ गरिरहन्थे । प्यालेस्टिनी लडाकु समूह हमाससँग युद्ध सुरु भएदेखि गाजा क्षेत्रबाट श्रमिक काम गर्न आउन प्रतिबन्ध छ । जसले गर्दा इजरायलमा श्रमिकको अभाव हुादै आएको हो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024