गाउँ रित्तिँदै जाँदा

31 Dec, 2024

७० वर्षीया पञ्चा टमटालाई उपचार गर्न महिलाले बाँसको स्ट्रेचरमा बोकेको लैजाँदै गरेको तस्बिर वास्तवमा कर्णालीको दुर्गम गाउँको दृश्यमात्रै होइन, अहिले नेपालका गाउँगाउँको सचित्र पनि हो । कि गाउँमा युवा छैनन्, पुरुष पनि छैनन् । भरअभरको सबै काम महिलाकै काँधमा छ । युवा जति बिदेसिएका छन्, पुरुष पनि बिदेसिएका छन् । घर धान्नेमात्रै होइन, गाउँ धान्ने पनि महिला नै छन् । गाउँहरू रित्तिँदै रित्तिँदै गएका छन् । सुनसान बन्दैछन् । यसको प्रमुख कारण रोजगारी, शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताको अभाव हो । गाउँका खेतबारी बाँझा छन् । खेतीपाती गर्ने पाखुरी नहुनुमात्रै खेतबारी बाँझिनुको कारण होइन । गाउँमा खेती गर्न मलजलको अभाव छ । बिउको अभाव छ । सिँचाइको अभाव छ । अनि उत्पादन भइसकेपछिको चिजको पनि बजार अभाव छ । तब कोही किन गाउँमा बस्छ वा गाउँमा बसेर केही गर्छ ?    

पञ्चायतको उत्तराद्र्ध र बहुदल पुनर्बहालीपछि सरकारले जिल्ला सदरमुकामहरूसम्म सडक सञ्जाल पु¥याउने लक्ष्य राख्थ्यो । अहिले पनि पालिकाहरू हातका औंलामा गन्न सकिनेमा छन्, जहाँ सडक सञ्जाल पुगेको छैन । गाउँगाउँमा मोटरबाटो पुगिसक्यो । हिँडेर र हिँडाइमै जिन्दगीको महŒवपूर्ण समय खेर फाल्नुपर्ने जमाना गएको छ । तर, खुट्टाले ‘हिँड्न’ नपरे पनि ती मोटरबाटोले मानिसलाई गाउँबाट हिँडाएको छ । सहर पु¥याएको छ । सहरबाट विदेश पु¥याएको छ । गाउँगाउँमा पुगेका मोटर चढेर मानिसहरू बसाइँ सरेका छन् । गाउँ रित्तिएका छन् । गाउँको उत्पादन बजार ल्याउने होइन कि मानिसलाई नै अन्त लैजाने माध्यम सडक बनिरहेको छ । त्यो कर्णालीका हरेकजसो जिल्ला सदरमुकामबाट छुट्ने बसहरूमा देखिने दृश्यले बताउँछ कि हरेक दिन युवा विदेश पलायन भइरहेका छन् । गाउँ खाली हुँदा खेतीयोग्य जमिन बाँझो भएको छ । पशुपालन लोप हुँदैछ । गाउँका पुराना घरहरू सुनसान छन् । सामाजिक समारोह र चाडपर्वमा चहलपहल हराउँदै गएको छ । गाउँ समाजलाई जोड्ने सांस्कृतिक र सामाजिक तन्तुहरू क्रमशः कमजोर हुँदैछन् । आर्थिक समस्याले सामाजिक र सामाजिक समस्याले आर्थिक समस्या निम्त्यारहेको छ ।

सडक पुगेका गाउँमा पनि अझै खानेपानीको प्रबन्ध राम्रो छैन । बसाइँसराइको प्रमुख एउटा कारण खानेपानीको अभाव छ धेरैतिर । आकासेपानीकै भरमा गुजारा गर्नुपर्ने, रेक्चाजस्ता ठाउँका गाउँहरूमा बसाइँसराइको लहरले जनजीवन अस्तव्यस्त छ । सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने, गाउँलेलाई उद्यमशील बनाउने, कृषिमा व्यवसायीकरण गर्ने योजना र कार्यक्रम नभएसम्म गाउँमा मानिस अडिन्नन् । गाउँ रित्तिनु राष्ट्रिय चिन्ताको विषय हो । सडक पूर्वाधारसँगै शैक्षिक र स्वास्थ्यका भरपर्दा पूर्वाधारमा सरकारले ध्यान दिनुपर्छ । र, सबैभन्दा गाउँमै आम्दानीका उपायहरूको विकल्प दिनुपर्छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024