एक हजार विदेशीलाई श्रम स्वीकृति

30 December, 2024

Sita Sharma

औसतमा दैनिक दुई हजार १३ जना नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका बेलामा नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा ९६६ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ । नेपालमा दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । 

विदेशी लगानीमा निर्माण भइरहेका परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् । विभागका निर्देशक मणिनाथ गोपले चालु आवको पाँच महिनामा श्रम स्वीकृति लिने विदेशी श्रमिक गत आवको सो अवधिमा भन्दा केही बढेको जानकारी दिनुभयो । गत आव २०८०/८१ को मङ्सिरसम्म नवीकरण र नयाँ गरी ९५९ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका थिए । चालु आवमा नयाँ श्रम स्वीकृति र नवीकरण गर्नेको सङ्ख्या ९६६ रहेको छ । यो हेर्दा अघिल्लो वर्षको तुलनामा यस वर्ष सात जनाले बढी छ । 

विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरेको छ । तर नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको सङ्ख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष श्रमिकसमेत नेपालमा आउने गरेका छन् ।

विभागका अनुसार एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् । विभागका अनुसार रसुवागढी, त्रिशूली, मध्य भोटेकोशी, काबेली हाइड्रोपावर कम्पनी, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिक श्रमिक विदेशी छन् । 

विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि ३३ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ छन् । श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ । 

विभागका अनुसार आव २०८०/८१ मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न नेपालबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या दुई हजार ६८५ रहेको छ । जसमा नयाँ एक हजार ६६५ जना रहेका छन् भने श्रम नवीकरण गर्नेको सङ्ख्या एक हजार २० जना रहेको छ । जब कि आव २०७९/८० मा यो सङ्ख्या दुई हजार ९८८ जना थियो । जसमा नयाँ एक हजार ३६३ जना थिए भने श्रम नवीकरण गर्ने एक हजार ६२५ जना थिए । 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026