सिन्डिकेट अन्त्य गर्न माग

30 December, 2024

नेपाल मेडिकल व्यवसायी सङ्घ (नेमो) ले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा गुणस्तर सुनिश्चित गर्दै यस क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गरिनुपर्ने माग गरेको छ । नेमोले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा विभिन्न बहानामा व्यापक सिन्डिकेट भएकाले यस्तो गतिविधि सरकारबाट बन्द हुनुपर्ने माग गरेको हो ।

नेमोका महासचिव कृष्णप्रसाद बजगाईंले सरकारमातहतमा दर्ता भएर सञ्चालन भएका २१२ वटा स्वास्थ्य संस्थालाई खुला प्रतिस्पर्धा तथा लगानी सुनिश्चित गर्नुपर्नेमा उल्टै देशैपिच्छेको सिन्डिकेट खडा गरी शुल्कमा समेत कार्टेलिङ गरेर ३६ वटाले मलेसिया र १९ वटा गाम्का संस्थाको नाममा सिन्डिकेट गर्दै आएको बताउनुभयो । 

नेमोका अध्यक्ष तारानाथ अर्यालले २०७५ चैत १८ गते प्रकाशित सूचना अनुसार मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थाले कानुनले तोकेको मापदण्ड पूरा गरेका १२२ वटा संस्था रहेको भनेर मलेसिया सरकारलाई पत्राचार गरेको पनि हालसम्म ३६ वटा संस्थाकै सिन्डिकेट कायम रहनुले राज्यमाथि प्रश्न गर्नु परेको बताउनुभयो । अध्यक्ष अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी कानुनी व्यवस्था समय अनुसार परिवर्तन गर्नुपर्ने, स्वास्थ्य परीक्षणमा एकरूपता हुनुपर्ने, स्वास्थ्य परीक्षण गर्ने सबै संस्थामा अनिवार्य बायोमेट्रिक प्रणाली रेटिना परीक्षण हुनुपर्ने बताउनुभयो ।   

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024