छिटो कोरिया पठाइदिन आग्रह

10 January, 2025

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगार अनुमति प्रणाली (इपिएस) बाट दक्षिण कोरिया जान भिसा प्राप्त श्रमिकलाई छिटो पठाउने व्यवस्था गर्न आग्रह गर्नुभएको छ । श्रममन्त्री भण्डारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत थी पार्क टेआई योङबिच बिहीबार मन्त्रालयमा भएको भेटमा यस्तो आग्रह गर्नुभएको हो । 

भेटघाटका क्रममा मन्त्री भण्डारीले दक्षिण कोरिया जानका लागि परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका सबै नेपालीलाई पठाउन र आगामी दिनमा श्रमिकको माग सङ्ख्या बढाउन पहल गर्न अनुरोध गर्नुभएको थियो । 

कोरिया भाषा परीक्षा उत्तीर्ण गरेका, तयारीमा रहेका, विगतमा रोस्टरमा नाम परेका तर कोरिया जान नपाएका व्यक्तिसमेतलाई लक्षित गरी आगामी दिनमा विशेष व्यवस्था गर्नुपर्ने र सो कार्यका लागि सिप विकासमा कोरिया सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । 

राजदूत योङले नेपाली श्रमिकको उच्च कदर गर्दै नेपालबाट निरन्तर रूपमा लैजाने, रोस्टरमा नाम समावेश भएका व्यक्तिलाई उच्च प्राथमिकताका साथ रोजगारीमा लैजान पहल गर्ने र थप नेपाली श्रमिक लैजाने विषयमा आफू सकारात्मक रहेको बताउनुभयो । नेपाली श्रमिकका लागि दक्षिण कोरिया उत्कृष्ट गन्तव्य रहेको छ । 

आगामी दिनमा सिपयुक्त श्रमिक पठाउन सकिने सम्भावना भएकाले सिप विकासमा सहकार्य गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024