‘बैदेशिक रोजगारीमा जानुअघि जानकारी लिनुपर्छ’

13 January, 2025

Dharbendra Jha

वैदेशिक रोजगारीमा जाने युवाहरुले विदेश जानुअघि आफूले गर्ने कामकाज बारेमा आवश्यक परामर्श र जानकारी लिएर मात्र जान विज्ञहरुले सुझाब दिनुभएको छ ।

जानकारीको अभावमा विदेशिएका धेरैजसो युवालाई विदेशमा गएर कामकाज गर्नेबेला बिभिन्नखालका समस्याहरु आउने गरिएको भन्दै त्यस्ता समस्या आउन नदिन उहाँहरु जानकार हुनुपर्नेमा बिज्ञहरुले जोड दिनुभयो । मित्र धनुषा नामक संस्थामार्फत नेपाल सरकारद्वारा धनुषामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको विषयमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार पत्रकारसँग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले यस्तो सल्लाह सुझाब दिनुभयो । 

धनुषामा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन कार्यक्रममार्फत विदेसिने युवालाई वैदेशिक रोजगारीमा जाँदा के के विषयहरुमा ध्यान दिनुपर्छ भन्नेबारेमा जानकारी दिनुको साथै परिवारका सदस्यलाई कुनै प्रकारको समस्या आउँदा मनोसमाजिक परार्मशका साथै युवालाई सीपमुलक तालिम, सूचना तथा परामर्श र न्यायमा पहुँचका लागि कामकाज गर्ने गरिएको छ ।

उक्त कार्यक्रमका जिल्ला संयोेजक सौरभ कर्णले लगातार ८ वर्षदेखि सबै भन्दाबढी युवाहरु विदेशिने जिल्लामध्ये नेपालमै धनुषा पहिलो जिल्ला रहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८०–८१ मा मधेश प्रदेशबाट एक लाख ७२ हजार ६१ जना विदेश गएकोमा धनुषाबाट मात्र ३९ हजार १०७ जना गएको बताउनुभयो । 

त्यसैगरी आर्थिक वर्ष २०८१–८२ को पाँच महिनामा मधेश प्रदेशबाट ७३ हजार ४३६ जना विदेशिएकोमा धनुषाबाट मात्र १७ हजार ३७३ जना विदेशिएको बताउनुभयो । उहाँले पुरुषसँगै महिला पनि विदेश जान लागेको र आर्थिक वर्ष २०८०–८१ मा मधेश प्रदेशबाट तीन हजार ७२७ जना महिला विदेश गएकोमा धनुषाबाट ३०६ जना महिला रहेको जिल्ला कार्यक्रम संयोजक कर्णले बताउनुभयो । उहाँले वैदेशिक रोजगारीको क्रममा ठगिदा वा कुनै प्रकारको दुर्घटना हुँदा उजुरीको अधारमा संस्थाले उनीहरुको समस्या समाधान गर्ने गरिएको बताउनुभयो । 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024