वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ

6 January, 2025

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका-१० का २८ वर्षीय राकेश कुमार रावत, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ का ३३ वर्षीय दुधराज थिङ र दाङको तुल्सीपुर उपमहानगरपालिका-५ की ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन्। 

काठमाडौं महानगरपालिका-९ मा बस्दै आएका रावतले मौरिसस पठाइदिने भन्दै ६ लाख ४५ हजार, ललितपुरको महालक्ष्मी नगरपालिका-९ मा बस्ने थिङले क्यानडा पठाइदिने भन्दै ७ लाख ५० हजार र  ललितपुर महानगरपालिका- बस्ने श्रेष्ठले सिंगापुर पठाइदिने भनेर पीडितबाट ७ लाख ८ हजार लिएर सम्पर्कविहीन बनेका थिए। 

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरुले उजुरी दिएका थिए। 

उजुरीपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024