६ महिनादेखि साउदीमै शव

10 October, 2014

साउदी अरबमा ६ महिनाअघि शंकास्पद मृत्यु भएका युवकको शव अझै नेपाल ल्याइएको छैन । स्थानीय महारानीझोडा ७ का अम्बरबहादुर कार्कीको जेठ १८ गते मृत्यु भएको खबर परिवारले पाएका थिए । दमकमा ट्याक्सी चलाउने ३८ वर्षीय अमर कार्की राम्रो कमाइको आश गर्दै दुई वर्षअघि रोजगारीका लागि साउदी गएका थिए । उनका बुबा खड्गबहादुरका अनुसार ड्राइभिङका लागि भनेर साउदी लगिएका अमरलाई खेतीको काममा लगाइएको थियो । आफूलाई सम्झौता अनुसार काम नदिएको भन्दै स्थानीय अदालतमा मुद्दा हालेपछि अमर र मालिकबीच विवाद भएको कुरा छोराले सुनाएको खड्गले बताए ।

जेठ १८ गते मालिकसँग विवाद भयो अब घरै आउने भनेर फोन गरेको खड्गबहादुर सम्झन्छन्, ‘भोलिपल्ट दिउँसो मृत्युको खबर आयो,’ उनले भने । परिवारका सदस्यलाई मालिकले अमरले आत्महत्या गरेको भन्ने खबर दिएका छन् । ‘मालिकसँग विवाद भएकै दिन कसरी आत्महत्या गर्नुहुन्छ ?’ भाउजू साबित्राले भनिन्, ‘एउटा कामका लागि लगेर अर्कोमा लगाउँदा कारबाही हुने डरले देवरको हत्या भएको जस्तो लाग्छ ।’ अमरको मृत्युले श्रीमती उमा, छोरी अनुषा र छोरा अनवेसको खुसी हराएको छ । दुई महिनअघि उमाले श्रीमानको शव तत्काल ल्याइदिन माग गर्दै परराष्ट्र मन्त्रालय लगायतलाई लेखेको पत्रमा क्राउन इम्प्लोइमेन्ट सर्भिस प्रालि सातदोबाटोबाट क्षतिपूर्ति भराइदिन सहित उसमाथि कारबाही गर्न माग गरेकी छन् ।

क्राउनका सञ्चालक विष्णु खतिवडाले १८ महिनासम्म सम्झौता विपरीत काममा लगाएको बारे आफूलाई जानकारी नदिएको बताएका छन् । मृत्युपछि मात्र अमर सम्झौताभन्दा विपरीत काममा लागेको आफूले थाहा पाएको उनले जनाए । ‘मृतकका परिवारले पाउने बिमा र क्षतिपूर्तिको रकम दिलाउन मेरो पूर्ण सहयोग रहन्छ,’ खतिवडाले फोनमा भने ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024