कृष्ण रिजाल
पौने ३७ अर्ब लगानीको होंसी शिवम् निर्माण अन्तिम चरणमा, अप्रिलदेखि उत्पादन थाल्ने
नेपालमा सडक, एयरपोर्ट, खानेपानी, सिँचाइ, उद्योगलगायत ठूला–ठूला पूर्वाधार निर्माणको अवस्था दयनीय छ । तोकिएको समयमा निर्माण सम्पन्न नहुनु सामान्य भइसकेको छ भने परियोजना नै अलपत्र भएका पनि प्रशस्तै उदाहरण छन् । तर, यही प्रवृत्तिका बीचमा एउटा ठूलो उद्योगको निर्माण भने चामत्कारिक ढंगबाट अघि बढिरहेको छ । नवलपरासीको बेनामणिपुरस्थित सर्दीमा बनिरहेको देशकै ठूलो सिमेन्ट उद्योगले तोकिएको समयभन्दा निकै छिटो काम सम्पन्न गर्दै छ ।
नेपाल र चीनका व्यवसायीको संयुक्त लगानी रहेको होंसी शिवम् सिमेन्ट उद्योगको निर्माण निकै द्रुत गतिमा बढिरहेको छ । उद्योग निर्माणको गतिप्रति लगानी बोर्ड नेपाल र सर्दीका स्थानीय बासिन्दा मात्रै होइन, उद्योगका नेपाली साझेदारहरूसमेत आश्चर्यमा परेका छन् । विविध समस्या र संस्कारका बाबजुद देशकै ठूलो सिमेन्ट उद्योगको सबै पूर्वाधार एक वर्षमै सम्पन्न हुनु आफैमा चामत्कारिक र उदाहरणीय भएको होंसी शिवम् सिमेन्ट उद्योगका उपमहाप्रबन्धक गौरव गोयल बताउँछन् । ‘शिवम् सिमेन्ट निर्माण गर्न २ वर्षभन्दा बढी समय लागेको थियो,’ उनले भने, ‘तर, शिवमभन्दा झन्डै १० गुणा ठूलो होंसी शिवम् उद्योग भने निर्माण थालेको डेढ वर्षमै सञ्चालनमा आउँदै छ ।’ जनवरी २०१७ मा निर्माण सुरु भएको होंसी शिवम्को हालसम्म झन्डै ९० प्रतिशत काम सकिएको छ ।
यति छोटो समयमा यति ठूलो उद्योग कसरी भयो भन्ने जिज्ञासामा उद्योगका कम्पनी निर्देशक–महाप्रबन्धकलाई वेइपेङ भन्छन्, ‘वास्तवमै यति छिटो काम सम्पन्न गर्न सजिलो थिएन, तर स्थानीय साझेदासँगको राम्रो समन्वय, कामदारको मिहिनेत र होंसीको आफ्नो अनुभवले यो सम्भव भयो ।’ वेइपेङको नेतृत्वमा यसअघि चीनमा यस्तै ठूला प्रकृतिका ४ वटा उद्योग निर्माण सम्पन्न भइसकेका छन् । सोही अनुभवलाई नेपालमा प्रयोग गर्न उनी सफल भएको चिनियाँ कामदार बताउँछन् ।
यसरी भइरहेको छ
द्रुत गतिमा काम
उद्योगमा हाल १ हजार ६ सयजनाले काम गरिरहेका छन् । त्यसमध्ये १ हजार १ सयजना नेपाली र ५ सयजना चिनियाँ रहेका छन् । उद्योग निर्माणको काम तीन सिफ्ट गरेर चौबिसै घन्टा चलिरहेको उनले बताए । ‘चिनियाँहरू सातै दिन काम गर्छन् भने नेपालीलाई साताको एक दिन मात्रै छुट्टी छ,’ गोयलले भने, ‘निर्माण सुरु भएको दिनदेखि एक दिन पनि काम रोकिएको छैन ।’ उद्योगका सबै युनिटको निर्माण एकैपटक थालिएको थियो । थर्मल प्लान्ट, ग्राइन्डिङ, क्लिङ्कर तथा सिमेन्ट भण्डारण, लोडिङ, आवास भवनलगायत सबै युनिटको काम भटाभट अघि बढिरहेको छ । कामदारका अलावा उद्योग निर्माणमा ठूला–ठूला अत्याधुनिक मेसिन पनि प्रयोग गरिएका छन् । मुख्य मेसिन यही डिसेम्बरभित्र जडान गर्ने कम्पनीले जनाएको छ ।
अप्रिलदेखि सिमेन्ट उत्पादन
होंसी शिवम् सिमेन्टले अबको चार महिनाभित्र उत्पादन थाल्ने महाप्रबन्धक वेइपेङले बताए । ‘मार्चभित्र सबै निर्माण र जडानका काम सम्पन्न भइसक्नेछन्,’ उनले भने, ‘अप्रिलदेखि होंसी शिवमको उत्पादन बजारमा आउनेछ ।’ उद्योगले सुरुमा प्रतिदिन ६ हजार टन सिमेन्ट उत्पादन गर्नेछ । उत्पादित सिमेन्ट नेपालमै बिक्री गर्ने कम्पनीले जनाएको छ । उद्योगले उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्नुका साथै आयात प्रतिस्थापनको लक्ष्य लिएको गोयलले बताए ।
पौने ३७ अर्ब लगानी
चीनको होंसी ग्रुप र नेपालको गोयल, लक्की र सारडा ग्रुपको संयुक्त लगानी रहेको ‘होंसी शिवम् सिमेन्ट प्रालि’ले यसअघि नै लगानीको स्वीकृति लिएर उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको हो । उद्योगमा कुल ३६ अर्ब ७५ करोड (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी हुनेछ । यसमा होंसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट लिमिटेडको ७० प्रतिशत लगानी रहेको छ । बाँकी ३० प्रतिशत लगानी भने नेपालका गोयल, सारडा र लक्की ग्रुपले स्थापना गरेको शिवम् होल्डिङको रहेको छ ।
तर, सरकारी काम शून्य
सिमेन्ट उद्योगमा पहुँच सडक र विद्युत् पूर्वाधार निर्माण गरिदिने सरकारले घोषणा गरेको छ । सोहीअनुसार सरकारले केही सिमेन्टमा सडक र विद्युत् पूर्वाधार निर्माणसमेत गरिदिएको छ । तर, होंसी शिवमको उद्योग निर्माण सम्पन्न हुनै थाल्दासमेत सरकारले प्रसारणलाइन निर्माण गरिदिएको छैन । ‘हामीलाई ५० मेगावाट विद्युत् चाहिन्छ,’ उपमहाप्रबन्धक गोयलले भने, ‘तर, उत्पादन थाल्ने मिति नजिकिँदै गर्दासमेत सरकारले आफ्नो नीतिअनुसार विद्युत् पूर्वाधार निर्माण सुरु गरेको छैन ।’ उद्योगले त्यहीँ निस्कने धुलोबाट १२ मेगावाट विद्युत् उत्पादन गर्नेछ । त्यस्तै, २५ मेगावाटको थर्मल प्लान्ट पनि निर्माण गरिरहेको छ । अहिले आफैँले उत्पादन गर्ने ३७ मेगावाटबाट उद्योग सञ्चालन गरिने उनले बताए । तर, सडक स्तरोन्नति र १३२ केभिए क्षमताको विद्युत् प्रसारणलाइन छिटो निर्माण गरिदिन उनले सरकारलाई आग्रह गरे ।