त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय कर्मचारीको लापरबाहीका कारण वैदेशिक रोजगारका लागि अफ्रिकी मुलुक स्वाजिल्यान्ड हिँडेका आठ नेपाली युवाले दु:ख झेल्नुपरेको छ। ती युवालाई गत शनिबार सक्कली भिसा नभएको र इन्टरनेटमा भिसा नदेखिएको भन्दै अध्यागमन कार्यालयका कर्मचारीले फर्काइदिएका थिए।
तर उनीहरूले आफ्नो कागजपत्र सक्कली भएको भन्दै अध्यामनका कर्मचारीले आफूहरूलाई दु:ख दिने नियतले फिर्ता गरेको आरोप लगाएका छन्। विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोविन्द कार्कीले उनीहरूसँग भएको आवश्यक कागजपत्र पूरा नभएकाले ती कामदारलाई फिर्ता गरिएको बताए। उनीहरू दिनहुँजसो समस्या लिएर अध्यागमन विभाग पुग्छन्। उनीहरूको ट्रान्जिट अफ्रिकी मुलुक मोजाम्बिकको भिसा सकिएको छ। ती कामदार मोजाम्बिक हुँदै स्वाजिल्यान्ड जान लागेका थिए। जेट एअरबाट मुम्बई हुँदै उनीहरू त्यसतर्फ जान लागेका थिए।
उनीहरूलाई विमानस्थल अध्यागमनको कञ्चनजंघा समूहका कर्मचारीले रोकेका थिए भने रोकिनुपर्ने पत्र अन्नपूर्ण समूहका कर्मचारीले दिएका थिए। अध्यागमन विभागले उनीहरूलाई स्वाजिल्यान्ड जान दिए पनि ट्रान्जिट हुने मुलुकको भिसा सकिएकाले पुन: भिसा नलिएसम्म उनीहरू जान सक्दैनन्।
ट्रान्जिटका लागि उनीहरूले लिएको मोजाम्बिकको भिसाको म्याद सकिएको छ। मोजाम्बिक स्वाजिल्यान्डको छिमेकी मुलुक हो। आफ्नै अन्तर्राष्ट्रिय विमानस्थल नभएका कारण स्वाजिल्यान्ड जान नजिकैको मुलुकको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नुपर्ने भएकाले ट्रान्जिट भिसा अनिवार्य हुन्छ।
स्वाजिल्यान्डको गृह मन्त्रालयले नेपालस्थित अध्यागमन विभागलाई सीधै पत्राचार गरी ती कामदारलाई पठाइदिन आग्रह गरेको थियो। त्यहाँको गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयको च्यानल प्रयोग नगरी सीधै विभागलाई पत्राचार गरेको हो। ती कामदार स्वाजिल्यान्डको राजदरबारअन्तर्गतका कार्यालयमा काम गर्न जान लागेका हुन्। अध्यागमन कार्यालयले त्यही पत्रको वैधानिकतामाथि प्रश्न उठाएर कामदारलाई फिर्ता गरेको हो। कार्यालय प्रमुख कार्कीले भने, ‘त्यहाँको गृह मन्त्रालयबाट पठाएको पत्रमा के वैधानिकता छ? त्यो पत्र सक्कली हो भन्ने आधार के त? कुनै पनि कामदारलाई रोक्ने हाम्रो नियत होइन। कागजपत्र पूरा भयो भने हामी कसैलाई पनि रोक्दैनौ।
अध्यागमन कार्यालयबाट फिर्ता हुनेमा विशाल कुँवर, मानबहादुर तामाङ, ढककुमार खत्री, रामकुमार न्यौपाने, शालिकराम मगर, श्याम खतिवडा, शक्ति कुँवर र प्रकाशकुमार जोशी छन्। अध्यागमन कार्यविधिअनुसार वैदेशिक रोजगारीमा जाने व्यक्तिको वैध राहदानी र भिसा, अन्तिम गन्तव्यस्थलसम्मको हवाई टिक ट र वैदेशिक रोजगार विभागले दिएको अन्तिम श्रम स्वीकृत भएमा त्यो व्यक्ति बिनारोकतोक सरकारले रोजगारका लागि अनुमति दिएको मुलुक जान सक्छ।
ती कामदारसँग भिसा, टिकटलगायतका आवश्यक कागजपत्र भए पनि अध्यागमनका कर्मचारीले कागजपत्रमा शंका लागेर फिर्ता गरेका हुन्। वैदेशिक रोजगार विभागले अन्तिम श्रम स्वीकृत दिएपछि ती कामदारको कागजपत्रमा शंका लागेर विमानस्थल अध्यागमन कार्यालयले फिर्ता गरेको हो।
सक्कली भिसा नभई वैदेशिक रोजगार विभागले कामदारलाई अन्तिम श्रम स्वीकृत दिँदैन। आठैजना कामदारलाई विभागले अन्तिम श्रम स्वीकृत दिएको छ। त्यही श्रम स्वीकृतिका आधारमा स्वाजिल्यान्ड जान विमानस्थल पुगेका आठजना कामदारलाई अध्यागमनले फिर्ता गरेको हो।
अध्यागमन कार्यालयले यसअघि नक्कली भिसा भएको भन्दै एसओएस म्यानपावर कम्पनीमार्फत दुबई जान लागेका २० कामदारलाई पनि फर्काइदिएको थियो।