सेवाग्राहीलाई हिरासतमा राख्ने अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

23 June, 2015

वैदेशिक रोजगारमा ठगीको उजुरी गर्न गएका सेवाग्राहीलाई हिरासतमा राखेर दु:ख दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैदेशिक रोजगार विभागका तत्कालीन कानून अधिकृत बाबुराम पाण्डे (हाल सामान्य प्रशासन मन्त्रालयका अधिकृत) विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ।

वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीबाट ठगिएपछि उजुरी गर्न जाँदा मुद्धा फिर्ता लिन दवाव दिई हिरासतमा राख्ने पाण्डे र प्यासेफिक ओभरसिज कन्सल्ट प्रालीका सन्चालक तिलु घलेविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो। अख्तियारका प्रवक्ता वेगेन्द्रप्रसाद पौड्यालले उजुरी गर्न गएका सेवाग्राहीलाई दु:ख दिने विभागका कर्मचारी र म्यानपावर व्यावसायी विरुद्ध मुद्धा दायर गरिएको प्रस्ट पारे।

अख्तियारका अनुसार प्यासेफिक ओभरसिज कन्सल्टबाट मलेसिया पुगेका नेपाली कामदारहरु टिकाराम उप्रेती र कमलप्रसाद उप्रेतीले सम्झौता अनुसार सुविधा नदिएको भन्दै स्वदेश फिर्ता भई वैदेशिक रोजगार विभागमा सम्वन्धित म्यानपावरलाई कारवाह गरि क्षतिपूर्ति दिलाई पाउँन ओमभक्त मैनालीलाई वारेश दिई मुद्धा दर्ता गराएका थिए। तर उजुरी उपर कारवाही अघि बढाउनुको उल्टो अधिकृत पाण्डेले म्यानपावर व्यावसायीलाई फाइदा पुग्ने गरि उजुरीकर्तालाईनै हिरासतमा राखेर उजुरी फिर्ता लिन दवाव दिएका थिए।

‘वैदेशिक रोजगारमा ठगीको उजुरी गर्न गएका उजुरीकर्तालाई हिरासतमा राखी डर त्रास सहित उजुरी फिर्ता लिन बाध्य बनाई, आफैले सनाखत तथा सहमतिको व्यहोरा लेखाई गलत लिखत र विवरण लेख्ने कानून अधिकृत पाण्डे विरुद्ध मुदा दायर गरिएको छ ,’ अख्तियारद्धारा जारी विज्ञप्तीमा भनिएको छ। अख्तियारले आफु विरुद्ध परेको उजुरीबाट उन्मुक्ती लिने वैदेशिक रोजगार व्यावसायी घलेलाई पनि अदालतमा मुद्धा दायर गरेको छ। अख्तियारले आरोपित दुवैलाई कडा सजायँको माग समेत गरेको छ। Published on: 23 June 2015 | Nagarik  

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024