सियाराम कतारमा बेपत्ताबारे थाहा छैन

14 July, 2015

जितेन्द्र साह

वैदेशिक रोजगारका लागि मोरङबाट कतार पुगेका एक युवक पाँच महिनादेखि बेपत्ता छन्। विराटनगरदेखि दक्षिण भाथीगछ ७ का २५ वर्षे सियाराम राजवंशीबारे परिवारजनले अहिलेसम्म कुनै पनि खाले सूचना पाएका छैनन्। छोराको राहदानी नम्बर, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको तस्बिर बोकेर पिता राजकुमार राजवंशी जानेबुझेकालाई खोजिदिन आग्रह गरिरहेका हुन्छन्। ‘यही एउटा तस्बिर छ, काठमाडौं वा कतारतिर कोही चिनेजानेको छ भने बुझिदिनुस् न,’ ६५ वर्षे राजकुमारले कान्तिपुरसँग भने। उनी पेसाले राजमिस्त्री हुन्। उनले भने, ‘छोरा र ऊसँगै कोठामा बस्ने साथीलाई फोन गरेको हो, लाग्दै लाग्दैन।’ काम गर्न गएको दोस्रो महिना नपुग्दै राति १० बजे शौच गर्न निस्केको छोरा त्यसपछि कोठामा नफर्केको सँगै बस्ने साथीको भनाइ उद्धृत गर्दै उनले बताए। सियारामबारे वैदेशिक रोजगार कम्पनीमा परिवारले निवेदन दिइसकेका छन्। ‘त्यहाँको जेलमा बुझ्न पाए हुन्थ्यो,’ उनले भने। पढाइमा कमजोर भएपछि पैसा कमाउन साहिलो छोरालाई कतार पठाएको राजवंशीले खुलाए। उनका चार छोरा छन्। दुई छोरा इटहरीको सिटी केवलमा काम गर्छन्। जेठा छोरा श्यामाकान्त झापामा प्रहरी सवारी चालक छन्। यिनै श्यामाकान्तले झापा बिर्तामोडको शिवाकोटी म्यानपावरमार्फत भाइलाई राजधानी पठाएका थिए। त्यसपछि यो म्यानपावरले काठमाडौंको सामाखुसीस्थित प्यासेफिक ह्युमन रिसोर्स प्रालिमार्फत कतार उडाएको थियो। ‘राम्रैसँग गयो, दोस्रो महिनाको तलब आउन केही दिन बाँकी थियो, हराएको खबर आयो,’ दाइ श्यामाकान्तले भने। यहाँ मासिक ९ सय रियाल तलब पाउने भनिए पनि त्यहाँ ६ सय रियाल मात्रै दिएको खुलासा पनि उनले गरे। उनका भाइ सियारामसँग भद्रपुरका युवा शिवा महत्तो पनि गएका थिए। यिनै महत्तोले गत २२ माघमा श्यामाकान्तलाई फोन गरेर भाइ अचानक हराएको खबर गरेका थिए। त्यहाँ श्रमिकलाई उपलब्ध गराइएको घरको माथिल्लो कोठामा महत्तो र अन्य मजदुरसँग तल्लो कोठामा राजवंशी सुत्थे। त्यहाँ एक कोठामा ४ देखि ६ जना सुत्दा रहेछन्। दाइ श्यामाकान्तका अनुसार महत्तोले आफूलाई भाइको रुम पार्टनर सर्लाहीका युवाको फोन नम्बर दिएर कुराकानी गर्न लगायो। ‘दाइ, हामी खाना खाएर राति १० बजेतिर सँगै सुत्यौं, २/३ बजेतिर शौच जान उठ्दा हजुरको भाइ कोठामा थिएन,’ सर्लाहीका युवाको भनाइ उद्धृत गर्दै श्यामाकान्तले भने। उताबाट प्राप्त जानकारीअनुसार एकसरो लुगा र साथीको सिम लिएर सियाराम गएका थिए। भाइले आफ्नो सिम मित्रकै कोठामा छाडेर गएको जानकारी पाएको श्यामाकान्तले बताए। ‘सुरुका केही दिन भाइले बोकेको फोन नम्बरमा सम्पर्क गर्दा उपलब्ध हुन नसकेको जानकारी आयो, पछि त सिम सस्पेन्ड भएको भनियो,’ दाइ श्यामाकान्तले भने। उनी भाइका बारेमा बुझ्न २ वैशाखमा राजधानीस्थित वैदेशिक विभाग, कन्सुलर शाखा, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, जिल्ला प्रशासन र विभिन्न संघसंस्था धाइसकेका छन्। उनले झापास्थित जिल्ला प्रशासनमा पनि यसबारेमा जानकारी दिइसकेका छन्। सियारामलाई कतार पठाउने प्यासेफिक ह्युमन रिसोर्स प्रालिले खाडी मुलुकबाट निस्कने नेपाली भाषाको राष्ट्रिय पत्रपत्रिकामा निकै खर्च गरेर सियाराम हराएको सूचना प्रकाशित गरिसकेको जनाएको छ। उक्त प्रालिका निर्देशक गंगाकुमारी पुनले यसबारे परराष्ट्र मन्त्रालयल र नेपाली दूतावासमा जानकारी गराइसकेको बताइन्। फेसबुकमार्फत समेत उनलाई खोज्ने अभियान चलाएको उनले जानकारी दिइन्। आफूहरूले कतारमा पुगेर समेत खोजबिन गरिसकेको पुनले दाबी गरिन्। Published on: 14 July 2015 | Kantipur  

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024