साउदीमा ६२ जना नेपाली अलपत्र

27 October, 2016

दूतावासमा उजुरी दिने दुईलाई बेपत्ता बनाइयो

 

होम कार्की

  

साउदी अरवको जुवेलस्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा तीन महिना अघि पुगेका ६२ जना नेपाली कामदार अलपत्र परेका छन् । ती कामदारलाई काठमाडौंस्थित न्यु जेनेरेशन इम्प्लोइमेन्ट सर्भिसले पठाएको थियो । 

 

रियादस्थित नेपाली दुताबासले कम्पनीले कामदारलाई काम दिन नसकेको भन्दै पठाउने म्यानपावरलाई कारबाही गर्न श्रम मन्त्रालयलाई र वैदेशिक रोजगार बिभागलाई सिफारीस गरेको छ । पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै उजुरी दिन नेपाली दुताबास पुगेका थिए । 

 

कम्पनीका मालिक महमद सदले दुताबासमा उजुरी दिन गएका रामचन्द्र ढुंगाना र जसिबिर नाल्वेलाई अज्ञात स्थलमा लगेर राखेको छ । त्यसपछि बाँकी कामदार दुताबासमा जान र खबर गर्न  डराएका छन् । ‘हामी आएदेखि कम्पनीले काम दिएको छैन । तलब पनि दिएको छैन’, एक पीडितले कान्तिपुरलाई भने,‘उद्धारका लागि पहल गर्न भन्दै साथीहरु नेपाली दुताबास पुगेका थिए । दुताबासबाट फर्केकै रात दुई जना साथीलाई राती सुतिरहेको कोठाबाट लिएर गए । उनीहरु कहाँ छ भन्ने अबस्था हामीलाई थाहा छैन ।’

 

पीडितले उजुरी दिएपछि श्रम काउन्सेलर अम्बिका अधिकारीले कम्पनी मालिक महमदलाई समस्या समाधान गर्न अनुरोध गरेका थिए । महमदले नेपालबाट म्यानपावरले आफुले चाहेको कामदार नपठाएको दावी गरेका छन् । ‘हामीले जस्तो कामदार खोजेका थियौ । त्यस्तो कामदार म्यानपावरले पठाएन । आएका कामदारले हामीले खोजेको काम गर्न सकेन । हामीले दिएको अर्को काम गर्न उनीहरु मान्दैनन्’, महमदले दुताबाससमक्ष भने । 

 

कम्पनीले स्वदेश फिर्ने भए प्रति कामदार २५ सय रियाल (झन्डै ७५ हजार रुपैया) माग गरेको छ । ‘नेपालबाटै आउदा एकलाखसम्म तिरेर आयौ । आएदेखि एक रियाल कमाउन पाएको छैन’, पीडितले भने,‘हामीले काम गरेपछि तलब कटाऊ भन्दा पनि मानेको छैन ।’ उनीहरु गत जेठको अन्तिम साता साउदी पुगेका थिए । त्यतिखेर कम्पनीले प्रति कामदार दुई सय रियाल मात्रै दिएको थियो । त्यस यता उनीहरुले पैसा पाएको छैन । ‘अहिले एउटा पसलमा खाता खोलिदिएको छ । त्यहाँबाट नै खाना ल्याउदै खाइरहेका छौं’, उनीहरुले भने,‘हाम्रो मालिक सार्‍है हरामी छ । केही बोल्यो कि पिटिहाल्छ । सबै डराएर बसिरहेका छौं । बोल्ने साथीहरुलाई अन्त्यै लिएर गए पछि हामी अभिभाबक बिहिन जस्तो भएका छौं ।’ 

 

दुताबासले ती कामदार दुताबासबाट फर्केपछि सम्र्पकमा नआएकोले थप जानकारी नभएको जनाएको छ । पीडित कामदारले आफुहरुलाई उद्धार गर्न अपिल गरेका छन् । ‘कम्पनीले काम दिने आश्वासन त देखाएको छ । दिए त राम्रै हुन्थ्यो । हामी कमाउन आएका हौं । यसरी नै बिचल्ली बनाइराख्यो भने हाम्रो अबस्था झन खरब हुन्छ’, पीडितहरुले भने । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026