साउदीमा नेपाली महिलालाई मृत्युदण्ड

5 August, 2014

साउदी अरेबियामा दुईवर्षे बालकको घाँटी रेटेर हत्या गरेको आरोपमा एक नेपाली महिलालाई सोमबार मृत्युदण्ड दिइएको छ। घरेलु कामदारका रूपमा साउदीमा रहेकी तनहुँकी सुनिता परियारलाई मृत्युदण्ड दिइएको साउदी अरेबियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले टेलिफोन सम्पर्कमा बताए।

साउदी अधिकारीले सुनिताको पनि टाउको काटेर मृत्युदण्ड दिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ। सुनिता साउदी बालक ओसामा बिन मइद अल-एन्जीलाई चक्कुले घाँटी काटेर मारेको आरोपमा दोषी पाइएको मन्त्रालयलाई उद्धïृत गर्दै त्यहाँको सरकारी समाचार संस्था एसपीएले जनाएको छ। मन्त्रालयले यसबारे थप विवरण दिएको छैन।

एएफपी समाचार संस्थाका अनुसार सुनितालाई अरार नगरमा मृत्युदण्ड दिइएको हो। निकै परम्परावादी मानिने साउदीमा यस वर्ष मृत्युदण्ड दिइएका व्यक्तिको संख्या १६ पुगेको एएफपीले जनाएको छ। सन् २०१३ मा साउदी अरेबियामा ७८ व्यक्तिलाई मृत्युदण्ड दिइएको थियो।

गत वर्ष मानवअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगले सन् २०११ पछि साउदीमा मृत्युदण्डको फैसला बढ्न थालेको भनी आलोचना गरेको थियो। मानवअधिकारका क्षेत्रमा कार्यरत संस्था एमनेस्टी इन्टरनेसनलका अनुसार साउदीमा सन् २०१० मा २७ व्यक्तिलाई मृत्युदण्ड दिइएको थियो भने सन् २०११ मा यो संख्या ८२ पुगेको थियो। यसमा २८ जना विदेशी नागरिक रहेको पनि एमनेस्टीले जनाएको थियो।

साउदी अरेबियामा सन् २०१२ मा ७९ जनालाई मृत्युदण्ड दिइएको थियो। त्यसमा २७ विदेशी नागरिक थिए। साउदी अरेबियामा इस्लामी सरिया कानुन लागू हुन्छ। यहाँ बलात्कार, हत्या, स्वधर्म त्याग, सशस्त्र डकैती तथा लागूपदार्थ बेचबिखनमा दोषी प्रमाणित भएमा मृत्युदण्ड दिइन्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024