श्रमिक कोषबाट विदेश भ्रमण रोक

12 March, 2015

संसद् सचिवालयले श्रमिक कोषबाट विदेश भ्रमण नगर्न सभासद् र आफ्ना कर्मचारीलाई निर्देशन दिएको छ। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहको नेतृत्वमा सभासद् र केही कर्मचारी वैदेशिक रोजगारीमा जाने श्रमिकले जम्मा गरेको क ल्याणकारी कोषको रकमबाट विदेश भ्रमणमा जान लागेपछि सचिवालयले बुधबार त्यसमा रोक लगाएको हो। भ्रमणसम्बन्धी समाचार बुधबार सञ्चारमाध्यममा प्रकाशित भएपछि संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईमार्फत भ्रमणमा रोक लगाउन निर्देशन दिएका हुन्। विदेशमा काम गर्न जाने श्रमिकबाट कटाएर बनेको क ल्याणकारी कोषबाट नेता तथा सभासद्ले विदेश भ्रमण गर्न लागेको भन्दै सर्वत्र आलोचना भएको थियो। ‘सभाध्यक्षले यस्तो भ्रमणमा जानु उपयुक्त नहुने भन्दै सभासद् र कर्मचारीलाई भ्रमण रद्द गराउन निर्देशन दिनुभएको छ’, सचिवालय स्रोतले भन्यो। नेम्बाङको निर्देशनपछि महासचिव भट्टराईले संसद्का कर्मचारीलाई भ्रमण रद्द गर्न निर्देशन दिएको र सभासद्लाई पनि भ्रमणमा नजान आग्रह गरेको स्रोतले बतायो। सभापति साहको नेतृत्वमा कांग्रेसका बलबहादुर केसी, एमालेका सोमप्रसाद पाण्डे, फोरम लोकतान्त्रिकका जितेन्द्र देव, सभासद् भरत खड्का, कमला शर्मासहित संसद् सचिवालयका कर्मचारीहरू आइतबारदेखि मलेसिया, कतार र दुबई भ्रमणमा जाने तयारीमा थिए। एमाले प्रमुख सचेतक अग्नि खरेलले सभासद् पाण्डेलाई भ्रमणमा नजान निर्देशन दिइसकेका छन्। खरेलले भने, ‘अब उहाँ जानुहुन्न।’ महासचिव भट्टराईले भ्रमणमा जाने तयारीमा रहेका समितिका सचिव शान्तकुमार तुलाधर र नारायण बस्नेतलाई भ्रमण रद्द गर्न बुधबार नै निर्देशन दिइसकेका छन्। ‘श्रमिकहरूको क ल्याणकारी कोषको रकम खर्च गरेर यस्तो भ्रमण गर्नु नैतिक दृष्टिकोणबाट जायज देखिँदैन’, सचिवालयका एक उच्च अधिकारीले भने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कोषको रकमबाट जम्बो टोली विदेश भ्रमणमा निस्किन लागेको विषयमा सोधपुछ थालेको छ। ‘यसअघि अख्तियारले बोर्डलाई दिएको निर्देशन सम्झाउँदै त्यसका पत्रहरू मागेको छ’, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारीनिर्देशक रघुराज काफ्लेले अन्नपूर्णसँग भने, ‘पत्रपत्रिकामा आएपछि सामान्य सोधपुछ भएको हो।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026