श्रमिकलाई चाडपर्व भत्ता उपलब्ध गराउन रोजगारदातालाई विभागको पत्र

12 October, 2026

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उद्योग, व्यवसायी बतथा निजी विद्यालयका छाता संगठनहरूलाई पत्राचार गर्दै आफ्ना सम्पूर्ण श्रमिकहरूलाई कानुनबमोजिम चाडपर्व खर्च (भत्ता) उपलब्ध गराउन पत्राचार गरी निर्देशन दिएको छ।

विभागले श्रम ऐन, २०७४ को दफा ३७ मा भएको कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरूलाई पत्राचार गरेको हो।

श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रचलित धर्म, संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।

विभागले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई), नेपाल उद्योग परिसंघ (सिएनआई) र नेपाल चेम्बर अफ कमर्स (एनसिसी) लाई २०८३ असोज २३ गते पत्राचार गरी आफ्ना आबद्ध रोजगारदाता तथा प्रतिष्ठानहरूलाई जानकारी गराई श्रमिकहरूलाई चाडपर्व खर्च भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।

त्यस्तै, २०८३ असोज २६ गते विभागले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको चाडपर्व खर्च सुनिश्चित गर्न छुट्टै पत्राचार गरेको हो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026