‘शून्य’ श्रम कूटनीति

4 December, 2024

Sabita Khadka

श्रम कूटनीतिलाई देशको आर्थिक वृद्धि र विकासको प्रमुख औजार मानिन्छ। देशमा रोजगारीको अवसर नहुँदा प्रत्येक वर्ष करिब ७ लाखभन्दा बढी श्रमिक श्रम बजारमा प्रवेश गर्छन्। तर कामका लागि तिनले देश छाड्नैपर्ने बाध्यता छ। सरकारी आंकलनअनुसार मलेसिया र खाडीका विभिन्न देशलगायत अन्यत्र करिब ३० लाख नेपालीले विदेशमा श्रम गर्छन्। तैपनि तिनको हकहित, सेवा–सुविधा र सुरक्षाका लागि नेपालको कूटनीतिक पहल निकै कमजोर छ। सरकारसँग श्रम स्वीकृति लिएर २०८०/८१ मा सात लाख ४१ हजार दुई सय ९७ नेपाली रोजगारीका लागि विभिन्न देश पुगेका छन्। त्यसमध्ये ६ लाख ६१ हजार एक सय २५ पुरुष र ८० हजार एक सय ७२ महिला छन्।

अहिले नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक युएई हो। युएई जान मात्र आर्थिक वर्ष २०८०/८१ मा एक लाख ९३ हजार चार सय ३८ नेपालीले श्रम स्वीकृति लिएका थिए। त्यस्तै नेपालीले रोजेको दोस्रो गन्तव्य मुलुक साउदी अरेबिया हो। मलेसिया र खाडी मुलुकहरू (साउदी अरेबिया, कुवेत, कतार, युएई, बहराइन् र ओमान) मा २०८०/८१ मा ६ लाख २९ हजार एक सय ३५ जना नेपाली श्रम स्वीकृति लिएर काम गर्न पुगेका थिए। दु:खको कुरा, कामको खोजीमा गएका श्रमिक देशबाटै ठगिन सुरु हुन्छ अनि परदेश पुगेपछि पनि आश्वासन दिइएजस्तो काम, तलब र सेवा सुविधा नपाएर प्रताडित हुन्छन्। उनीहरू बाध्य भएर कम तलबमा काम गर्छन्। नेपालले कतिपय देशसँग द्विपक्षीय श्रम सम्झौतासमेत गरेको छैन। त्यसकारण नेपाली श्रमिकले विदेशमा जस्तो नियम लगाए पनि मान्नुपर्ने बाध्यता छ।

नेपालले आफ्ना विदेशी कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई श्रमिक अनुकूल काम गर्ने बनाउन सकेको छैन। विभिन्न कूटनीतिक नियोगमा काउन्सेलर र श्रम सहचारीको जिम्मेवारी दिएर पठाए पनि अपेक्षित परिणाम हासिल भएको छैन। विदेशमा अलपत्र श्रमिकको उद्धारमा संलग्न प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) का पूर्वअध्यक्ष कुलप्रसाद कार्कीका अनुसार श्रम कूटनीतिमा प्रश्न उठ्ने अवस्था विविध कारणले आउँछ। प्रवासमा राज्यको संरक्षण दिने संस्था भनेको त्यहाँ रहेको नेपाली दूतावास हो। आप्रवासी श्रमिकको समस्या समाधान र व्यवस्थापनमा दूतावासका कूटनीतिक कर्मचारीहरूको भूमिका ठुलो छ। गन्तव्य मुलुकमा रहेका दूतावास धेरै कमजोर भएकै कारण श्रमिकले दु:ख पाइरहेको उनले बताए।

‘प्राय: देशसँग विशेष श्रम कूटनीति उल्लेख भएको छैन,’ उनले भने, ‘विदेशमा सानाठुला जस्ता घटना भए पनि राजनीतिक भ्रमणका क्रममा सामान्य चर्चा मात्र हुन्छ। कार्यक्रम तालिका बनाएर विशेष किसिमको जिम्मेवारीसहित काम गरेकै देखिँदैन।’ उनका अनुसार कामदारका समस्यामा आवश्यक कागज र प्रमाणसहित काम हुनुपर्छ। दूतावासले समस्यामा परेका श्रमिकको समस्या गन्तव्य मुलुकको श्रम अदालतमा मुद्दा दायर गरेर समेत देखाउनुपर्नेमा नेपाल फर्काएर जोगिने उपाय गरेको अवस्था छ। गन्तव्य देशको नीति र अवस्थाका कारण श्रमिकलाई परेका समस्या समाधानदेखि उद्धार तथा राहतसम्मका काममा दूतावास, श्रम र परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत चुक्दै आएका छन्।  

वैदेशिक रोजगारीमा गएका श्रमिक समस्या पर्दा म्यानपावर कम्पनीलाई उद्धारको आदेश दिन सक्ने विभागदेखि उद्धारको पहलमा लाग्नुपर्ने दूतावास र वैदेशिक रोजगार बोर्डसम्म आफ्नो भूमिकाबाट भाग्ने गरेको उनी बताउँछन्। साथै दूतावासहरू कार्यालय समयबाहेक अन्य समयमा पीडितको गुनासो सुनेर तुरुन्तै कारबाहीमा जान तत्पर छैनन्। के कार्यालय समयमा मात्र पीडित हुन्छन् र? श्रम समस्यामै ध्यान पुर्‍याउन नेपाल सरकारले आठ देश (साउदी अरेबिया, मलेसिया, कतार, युएई, दक्षिण कोरिया, ओमान, कुवेत र बहराइन) मा काउन्सेलर र श्रम सहचारी गरी १२ जना राखेको छ। साउदी अरेबिया, मलेसिया, कतार र युएईमा एकएक जना काउन्सेलर र श्रम सहचारी छन् भने दक्षिण कोरियामा एक मात्रै काउन्सेलर र ओमान, कुवेत, बहराइनमा एक–एक जना श्रम सहचारी छन्।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पठाउने कर्मचारी श्रम कूटनीतिका दूत बन्नुपर्ने हो। तर धेरैजसो देशका श्रमिकका गुनासो सुन्दा उल्टै पीडितसँग ‘अवाञ्छित लाभ’ उठाउने माध्यम बनिरहेको आरोप कार्कीको छ। श्रम तथा आप्रवासन विज्ञ सरू श्रेष्ठ जोशीका अनुसार आम श्रमिकले दूतावास आफ्नै घर हो भन्ने महसुस गर्नै पाएका छैनन्। श्रमिकले लाभ लिने तरिकाको श्रम कूटनीति भएकै छैन। श्रम कूटनीतिमा मात्रै कुनै पनि पार्टी र सरकारले ध्यान दिन सके धेरै श्रमिकको स्तरोन्नति हुने थियो। साथै सम्बन्धित देशका लागि चुनिएर जाँदै गरेका राजदूतहरूले श्रमिक हकहितका लागि पूर्वतयारी गरेर जानुपर्ने धारणा उनको छ।  

‘श्रम कूटनीति राम्रो बनाउन त्यहाँ जाँदै गरेका राजदूत तथा अन्य कर्मचारीलाई सम्बन्धित देशका बारेमा जानकारी हुनु जरुरी छ,’ उनले भनिन्, ‘केहीबाहेक सम्बन्धित देशमा गएका अधिकांश राजदूत, काउन्सेलर र श्रम सहचारीलाई पार्टीगत हिसाबले आफ्नो पालामा गरिखाऊ भनेर पठाउने गरेका छन्। अरूको विरोध गर्ने अनि आफूले पायो भने लुसुक्क जाने प्रवृत्ति पनि छ।’ जोशीका अनुसार रणनीतिक चातुर्यका साथ आफू नियुक्त दूतावासमा रहँदा राजदूत र कर्मचारीले काम गर्ने प्रयास गर्नुपर्छ। श्रमिकको स्वास्थ्य परिक्षण कसरी गर्ने भन्ने ध्यान कर्मचारीमा कमै देखिन्छ। साथै विदेशबाट फर्केर आएका श्रमिकलाई देशमै कसरी सहयोग गर्ने भन्नेमा कमै ध्यान छ।  

श्रम मन्त्रालयले २०४२ सालमा पहिलोपटक वैदेशिक रोजगार ऐन बनाएपछि नेपालबाट औपचारिक रूपमा विदेशमा कामदार पठाउन थालिएको हो। नेपालको फितलो श्रम कूटनीतिकै कारण अहिलेसम्म १२ वटा मुलुकसँग मात्रै श्रम सम्झौता भएको छ। नेपाली पुगेका गन्तव्य मुलुकसँग पनि श्रम समझदारी नहुँदा श्रमिकले हैरानी बेहोर्नुपरेको छ। यसले त्यहाँ रहेका श्रमिकको हित संरक्षण हुन सकेको छैन। कमाइका लागि विदेश पुगेका श्रमिकले अत्यधिक ठुलो शुल्क आफैँले बेहोर्नुपरेको अवस्था छ। साथै विदेशमा न्यून पारिश्रमिक र कमजोर सेवा–सुविधामै श्रमिकले चित्त बुझाउनुपर्ने बाध्यकारी अवस्था छ।  

नेपालका लागि साउदी अरेबियाका श्रम सहचारी ताम्राराज काफ्लेका अनुसार श्रम बजारमा श्रम कानुनहरू बिस्तारै श्रममैत्री हुँदैछन्। श्रम कानुन र श्रम प्रशासन प्रविधिमैत्री छन्। तर प्रविधिको प्रयोग गर्न नजान्नेले सोको लाभ उठाउने सम्भावना न्यून हुन्छ। साउदी जाने श्रमिकहरू ठगिनु र दुःख पाउनुका पछाडि मुख्य कारण यहाँको श्रम कानुन नबुझ्नु र प्रविधियुक्त श्रम प्रशासन र न्याय व्यवस्थाको लाभ लिन नसक्नु भएको उनले बताए। ‘साउदीमा आउने श्रमिकको भाषामै समस्या भएसँगै श्रमिकहरूको मुख्य गुनासो भनेकै म्यानपावर र एजेन्टले मागपत्रमा उल्लेख भएभन्दा बढी प्रलोभन र सपना देखाउनु पनि हो,’ उनले भने, ‘सीमित दक्ष कामदारहरू जो यहाँ आएका छन्, उनीहरूले विरलै दुःख पाएका छन्।’  

विदेशमा पुगेका कामदार रोजगारदाताबाट ठुलो संख्यामा पीडित भएका छन्। करारमा लेखिएअनुसारको तलब, काम र अन्य सुविधा नदिनु मुख्य समस्या हो। यसमा कडा र अडानसहित कामदारको हितमा कूटनीतिक दबाब दूतावासले दिन सकेका छैनन्। जसले गर्दा श्रमिक मारमा परेका छन्। उनका अनुसार साउदीमा धेरैजसो रोजगारदाता राम्रा भए पनि केही भने खराब छन्। अधिकांश राम्रो कम्पनीमा काम गरी नियमित आयआर्जन गरिहेकाहरू र राम्रो सुविधा भोगिरहेकाहरू न मिडियालाई खोज्छन् न त दूतावासलाई नै। तर दुःख पाउनेले आफ्नो दुःख सबैतिर सञ्चार गरी सहयोग माग्ने हुँदा दुःख मात्रै चारैतिर देखिन्छ।

एक सय ११ वटा देशसँग संस्थागत र एक सय ७८ देशसँग व्यक्तिगत श्रम स्वीकृति लिएर नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन्। तर श्रम कूटनीति कमजोर हुँदा नेपालीले निरन्तर दुःख पाउनुपरेको छ। ‘वैदेशिक रोजगारी कानुनलाई समयसापेक्ष र सरल बनाउन नसक्नु हाम्रो समस्या छँदैछ,’ उनले भने, ‘कूटनीतिक पहल गरी साउदी सरकारसँग छलफल गरी उसका सरोकार र हाम्रा विषय पनि सम्बोधन हुने गरी द्विपक्षीय श्रम सम्झौता गर्न नसक्नु पनि अर्को मुख्य समस्या रहेको छ। हाम्रो तर्फबाट धेरै विषय सुधार्नु आवश्यक छ।’

श्रमिकको हक अधिकार संरक्षण, समस्यामा उद्धार तथा रोजगारदाता र श्रमिकबीचको विवाद समाधानमा काउन्सेलर र श्रम सहचारीहरूको महŒवपूर्ण भूमिका हुन्छ। तर कतिपय नेपालीहरू विदेशमा समस्यामा परेर दूतावास आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो धेरै श्रमिकले गर्ने गरेका छन्। दूतावास र श्रम अधिकारीले श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्न नसकेको अत्यधिक पीडितहरूको गुनासो छ।  

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार विदेशमा बस्ने सबै श्रमिकका हितमा काम गर्ने मामिलामा श्रम कूटनीति साह्रै कमजोर छ। विदेशमा रहेका श्रमिकका लागि खासै उल्लेखनीय कार्य भएको छैन। सम्बन्धित देशहरूसँग प्रभावकारी ढंगले श्रम सम्झौता नहुँदा धेरै समस्या आएको उनले बताए। जसले गर्दा हुनुपर्ने काम नहुने र नहुनुपर्ने काम हुने गरेको छ। नेपालको श्रम कूटनीति कमजोर हुँदा विभिन्न समस्याहरू आउने गरेको उनी स्विकार्छन्।

उनका अनुसार गन्तव्य देशहरूमा आप्रवासीहरूको समस्या समाधान गर्न सक्ने कूटनीतिज्ञहरूलाई नियुक्त गर्ने वा तालिम दिने कुरामा नेपाल सरकारले ध्यान केन्द्रित गर्नुपर्छ। ‘श्रम कूटनीति अत्यन्त कमजोर र पछाडि परेको महसुस हुन्छ। यस्तो प्रणाली र अभ्यास मुलुकको आन्तरिक विकास र सिंगो श्रम क्षेत्रमा रहेका श्रमिकको कल्याणका लागि घातक देखिन्छ,’ उनले भने। नेपालबाट घरेलु कामदारका रूपमा जाने महिलाको अवस्था दयनीय छ। यसरी जाने काममा सरकारले रोक्न सकेको छैन। विभिन्न प्रक्रियामा एजेन्ट र दलालमार्फत महिलाहरू घरेलु काममा विदेश पुग्छन्। दलालहरूबाट बेचिएर अव्यवस्थित तरिकाले जाँदा त्यहाँ गएर दुःखको भुमरीमा पर्ने र उजुरी गर्न आउनै नसक्ने अवस्थामा धेरै छन्।  

श्रम मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका अनुसार विदेशमा भएका श्रमिकको समस्या नै प्रधान रूपमा देखिने भएकाले श्रमिकमैत्री वातावरण गराउन कूटनीतिक पहल नै बलियो हुनु अनिवार्य छ। कूटनीतिक विषयमा सम्बन्धित देशमा भएका दूतावासले समस्या र सवालबारे त्यहाँका निकायलाई जानकारी गराउनुपर्छ। साथै नेपालमा भएका श्रम गन्तव्य मुलुकका दूतावासका पदाधिकारीलाई बोलाएर विदेशमा अवस्थित नेपाली श्रमिकको हित र प्रवर्धनमा बढी ध्यान दिनेबारे सम्झाउनुपर्ने उनले बताए। ‘सबैभन्दा धेरै श्रमिक जाने देशसँग श्रम सम्झौता गर्न सरकार अग्रसर भएमा श्रम कूटनीतिलाई बलियो बनाउँन सकिन्थ्यो,’ निरौलाले भने।  

वैदेशिक रोजगारीमा गएका श्रमिक अलपत्र पर्ने समस्या अहिले मलेसिया र खाडी देशमा मात्रै छैनन्। युरोप र अमेरिकामा आकर्षक तलबसहित जागिर लगाइदिने भन्दै विभिन्न मुलुकमा पुर्‍याएर अलपत्र पार्ने क्रम पनि बढिरहेको छ। विदेश जानेहरूले सरकारबाट कुनै सहयोग नपाएको पीडित श्रमिकले बताउँदै आएका छन्। श्रम तथा आप्रवासन विज्ञ गणेश गुरूङका अनुसार श्रम कूटनीतिमा जोडिएका सरकारी संस्था र विदेश जाने श्रमिकको समस्यामै सहजीकरण हुन नसक्दा विभिन्न अड्चन आउने गरेका छन्। जसले गर्दा विभिन्न देशमा समस्या आएका कारण स्वदेश फर्किन चाहने धेरै श्रमिक गन्तव्य देशमै अल्झिनुपरेको छ।

‘श्रम कूटनीति हाम्रा लागि महत्वपूर्ण विषय हो। श्रम धेरै भएका खाडी मुलुकहरू, मलेसिया र अन्य देशमा दूतावास खोल्नुको मुख्य कारण नै श्रम कूटनीति हो,’ गुरुङले भने, ‘श्रमिकको सुरक्षाका लागि खोलिएको दूतावासले तिनको हकहितका लागि राम्रो काम गर्न सकेको छैनन्। विदेशमा खोलिएका दूतावासले पासपोर्ट नवीकरण गर्ने, मृतक व्यक्तिलाई प्रमाणीकरण गरेर पठाइदिने सामान्य कामबाहेक अरू केही भएको छैन।’ उनले थपे, ‘हुनुपर्ने श्रम कार्य हो। त्यहाँ कस्तो किसिमको सिप चाहिएको छ भनेर यहाँ सरकारलाई जानकारी गराउनुपर्ने हो। नेपाली श्रमिकको हकहितका लागि श्रम सम्झौता कसरी गर्ने, दुई देशबीच कसरी राम्रो गराउने भन्ने नै छैन।’ त्यसैले श्रम कूटनीतिले खासै काम नगरेको हुँदा श्रमिकले दुःख पाइरहेका उनले बताए। ‘जो पायो उहीलाई राजदूत नियुक्ति गरेको छ। त्यहाँ गएर हुने नहुने जे पनि बोल्दिएको छ। कसैलाई मतलब छैन। त्यो श्रम कूटनीति होइन। त्यहाँ भएका हाम्रा श्रमिकको कुरासँगै समस्यालाई समाधानको वार्ता गर्न सक्ने र श्रमिकको हितमा काम गर्ने कर्मचारी पठाउनुपर्छ,’ उनले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026