वैदेशिक रोजगार ठगी आरोपमा पक्राउ

5 March, 2015

झुक्याएर विदेश पठाएको आरोपमा प्रहरीले यहाँका २ जनालाई पक्राउ गरेको छ। आकर्षक पारिश्रमिकको प्रलोभनमा श्रम इजाजत अनुमति नभएको मुलुक रसिया पठाउने कपिलवस्तु १७ रुधौलाका दाजुभाइ इजाज र समीर अहमद पक्राउ परेका हुन्। मासिक १ लाख ५० हजार दिलाउने भन्दै उनीहरूले ६ युवालाई रसिया पठाएका थिए।  पर्यटक भिसामा जनही ४ लाख ५० हजार दाजुभाइलाई बुझाएर कपिलवस्तु १० का रुदल यादव, पशुपति तेली र बुद्धदेव कुर्मीसहित ६ जना रसिया गएका थिए। त्यसबाहेक त्यहाँ पुग्न १ लाख खर्च भएको थियो। अर्का सीताराम अग्रहरी जाने क्रममा थिए। रेस्टुरेन्टको काम, आकर्षक पारिश्रमिक प्रलोभन देखाएपछि ऋण लिएर गएको रुदलले बताए। उनले त्यहाँ देहव्यापार अखडामा काम गर्नुपरेको दुःखेसो पोखे। ‘घिन लाग्दो काम थियो,’ उनले भने, ‘महिनाभरि काम गर्दा एक पैसा नपाएपछि सबैले घरबाट जनही ५० हजार मगाएर घर फर्कियौं।’ उनीहरू १ महिनामै फर्केका हुन्।  ठगी गर्नेलाई कडा कारबाही माग गर्दै पीडितले जिल्ला प्रहरीमा उजुरी दिएका छन्। अरू दुई जना भने सम्पर्कमा नआएको प्रहरी उपरीक्षक विक्रम गुरुङले बताए। श्रम सम्झौता नभएको मुलुकमा रोजगारीका लागि पठाउनु गैरकानुनी भएकाले कारबाहीका लागि पीडितसहित ठगी गर्नेलाई वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइएको उनले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026