वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

22 April, 2025

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-१० घर भएकी २९ वर्षीया उरुषा क्षेत्री, काठमाडौं महानगरपालिका-३२ बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका २७ वर्षीय केदार ढुङ्गाना र दाङको तुलसीपुर उपमहानगरपालिका-६ घर भएका ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन्।

पक्राउ मध्ये उरुषाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८ लाख रुपैयाँ, केदारले माल्दिभ्स पठादिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख रुपैयाँ र पोषणराजले जापान पठाइदिन्छु भन्दै २ जना पीडितबाट ३४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै पीडितहरूको उजुरी दिएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उरुषालाई काठमाडौं महानगरपालिका-३१ बाट शनिबार, केदारलाई काठमाडौं महानगरपालिका-३२ बाट शुक्रबार र पोषणराजलाई दाङको तुल्सीपुर उपमहानगरपालिका-६ बाट बुधबार पक्राउ गरेको हो।

पक्राउ मध्ये उरुषा र केदारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग र पोषणराजलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026