चालू आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीमा ३८ करोड रुपैयाँको ठगी उजुरी परेको छ। आकर्षक कमाइ हुने काममा विदेश पठाइदिने भन्दै रकम असुल्ने गिरोह सक्रिय हुँदा ठगीको घटना बढेको हो। व्यक्तिगतमात्रै होइन, म्यानपावर कम्पनीमार्फत हुने संस्थागत ठगीको पनि उजुरी बढ्दो क्रममा छ।
बढ्दो ठगी उजुरी र रकमले वैदेशिक रोजगारीका क्षेत्रमा सरकारले अघि बढाएको सुधारका कार्यक्रम प्रभावकारी नभएको पुष्टि हुन्छ। गएको ६ महिनामा १४ सय ८४ वटा ठगीका उजुरी दर्ता भएका छन्। पुस महिनामात्रै दुई सय सातवटा ठगीका उजुरी परेका छन्। उजुरीमा संख्या संस्थागतको धेरै भए पनि रकमका आधारमा हेर्दा व्यक्तिगत ठगीको निकै बढी छ।
गएको पुस महिनमा मात्र व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीन करोड ८१ लाख ८९ हजार नौ सय रुपैयाँको ठगी उजुरी दर्ता भएको छ। जबकी यही अवधिमा संस्थागततर्फ दुई करोड ३७ लाख ३३ हजार एक सय ८० रुपैयाँबराबरको ठगी भएको दाबी गरिएको छ।
बढ्दो ठगी उजुरी र रकमले वैदेशिक रोजगारीका क्षेत्रमा सरकारले अघि बढाएको सुधारका कार्यक्रम प्रभावकारी नभएको पुष्टि हुन्छ।
उजुरी संख्या हेर्दा व्यक्तिगतको तुलनामा संस्थागतको निकै बढी छ। चालू आवको ६ महिना अवधिमा व्यक्तिगत र संस्थागत दुवैको उजुरी रकम हिसाब गर्दा ३७ करोड ९७ लाख ९७ हजार एक सय ५२ रुपैयाँको छ।
वैदेशिक रोजगार विभागले ठगीमा दुवै पक्षलाई झिकाएर मिलापत्र गराउने र आवश्यकताअनुसार बिगो भराउने कमसमेत गरेको छ। गएको पुसमा व्यक्तिगत ठगीमा ६० लाख ३३ हजार पाँच सय रुपैयाँ र संस्थागत ठगीमा ३३ लाख ५७ हजार पाँच सय रुपैयाँ बिगो भराएको छ।
६ महिना अवधिमा व्यक्तिगत र संस्थागत दुवैमा गरी पीडितलाई सात करोड ३२ लाख २५ हजार चार सय रुपैयाँ बिगो भराइएको छ। वैदेशिक रोजगारीका नाममा बिदेसिने तयारी गरेका हजारौं युवा ठगिएका भए पनि अदालतमा पुगेर मुद्दा दायर गर्नेक्रम भने अति न्यून हुने गरेको छ।
अझ संस्थागतमा यस्ता मुद्दा दायर गर्नेक्रम शून्यप्राय: छ। पुस महिनामा विभागमा संस्थागत ठगीको दुई सय सातवटा उजुरी दर्ता भए पनि अदालतमा एउटा पनि मुद्दा दायर गरिएको छैन।
व्यक्तिगतको भने १४ वटा मुद्दा दायर भएका छन्। ६ महिनाको अध्ययन गर्दा जम्मा ७४ वटामात्र मुद्दा अदालतसम्म पुगेको पाइन्छ।
बर्सेनि कामको खोजीमा बिदेसिने युवाको संख्या बढे पनि यस क्षेत्रमा नियमन निकै फितलो हुँदा जाने युवा विभिन्न बहानामा ठगिने गरेका छन्। दलाल, पठाउने म्यानपावर कम्पनी र रोजगारदाताले कामदारलाई ठग्ने तथा शोषण गर्ने प्रवृत्ति बढ्दो छ।
सरकारले ठगी गर्ने व्यक्ति तथा संस्थामाथि कडा कारबाही गर्न सकेको छैन। हाल कामको खोजीमा औसतमा दैनिक १५ सय जना नेपाली बिदेसिने गरेका छन्। सरकारको अनुमति लिएर ३५ लाखभन्दा बढी युवा काम गर्न विदेश गएका छन्। अवैध तरिकाले जानेको संख्या पनि ठूलो छ।