वैदेशिक रोजगारीमा जाने घटे

23 March, 2015

फागुन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ८.४३ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही महिनाको तुलनामा बिदेसिनेहरू घटेका हुन्।

गत वर्ष फागुनमा ४८ हजार पाँच सय ५२ जना वैदेशिक रोजगारीमा गएकामा यस वर्ष जम्मा ४४ हजार चार सय ६० जनामात्र गएका छन्। औसतमा गत वर्षभन्दा यसपालि बिदेसिनेको संख्या बढेको छ। फागुन महिनामा मात्र केही कम देखिएको हो। संख्यामा हिसाब गर्दा अघिल्लो वर्षको तुलनामा यसपटकको फागुनमा चार हजार ९२ जना कम गएका हुन्।

कुल बिदेसिनेमा यो महिनामा पनि पुरु ष कामदारकै वर्चस्व छ। ४४ हजार चार सय ६० जना विदेश गएकामा पुरु षको संख्या ४२ हजार तीन सय ९७ छ भने महिला जम्मा दुई हजार ६३ जना छन्।

तथ्यांकअनुसार यो महिनामा बिदेसिनेमा संस्थागत तबरबाट जानेको वर्चस्व छ। संस्थागतमा पुरु ष कामदार ३८ हजार एक सय ७५ जना र महिला १५ सय ३७ जना गएका छन्।

गत वर्ष फागुनमा ४८ हजार पाँच सय ५२ जना वैदेशिक रोजगारीमा गएकामा यस वर्ष जम्मा ४४ हजार चार सय ६० जनामात्र गएका छन्।

म्यानपावरका तर्फबाट जाने कामदार संस्थागतमा पर्छन् भने आफ्नै पहलमा विदेशमा रहेका आफन्तबाट भिसा मगाएर जाने व्यक्तिगतमा पर्छन्।

व्यक्तिगत पहलमा जानेमा यो महिना पुरु ष तीन हजार पाँच सय ३४ जना र महिला चार सय ५४ जना रहेका छन्। आन्तरिक बजारमा रोजगारीका अवसर सिर्जना हुन नसकेकाले काम गर्न विदेश जाने क्रम बढेको हो।

सरकारले विश्वका एक सय नौ मुलुकमा कामदार पठाउन अनुमति दिएको भए पनि नेपाली कामदारको प्रमुख रोजगारी गन्तव्य भने मलेसिया र खाडीमा सीमित छ। कुल बिदेसिनेमध्ये करिब ९५ प्रतिशत मलेसिया र खाडी मुलुकमा जाने गरेका छन्।

राष्ट्रगत आधारमा अध्ययन गर्दा विगत दुई वर्षयता लगातार मलेसिया सबैभन्दा धेरै नेपाली कामदार जाने मुलुकमा पर्छ। यो मुलुकमा मात्र हाल करिब ६ लाख नेपालीले काम गरिरहेको अनुमान छ।

वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार गएको फागुन महिनामा पनि मलेसियामा सबैभन्दा धेरै नेपाली कामदार पुगेका छन्। फागुनमा मात्रै १४ हजार आठ सय ७९ जना गएका छन्।

मलेसियामा तुलनात्मक रूपमा मिल्दो हावापानी तथा खुला वातावरण भएका कारण नेपाली कामदार त्यतातर्फ धेरै लागेका हुन्। यसबाहेक मलेसियाले सन् २०१८ भित्र आफूलाई विकसित मुलुकमा पु:याउने योजना बनाएको छ।

यसका लागि त्यहाँ तीव्ररूपमा विकास निर्माणका काम भइरहेका छन्। आन्तरिक तथा बाह्य लगानीमा उद्योगधन्दा खुल्ने क्रम जारी छ। मलेसिया र खाडीमा जाने अधिकांश कामदार अदक्ष र अर्धदक्ष हुने गरेका छन्।

नेपालबाट मलेसिया तथा खाडीमा जाने पनि अधिकांश अदक्ष र अर्धदक्ष नै छन्। नेपाली कामदारको वैदेशिक रोजगारीको दोस्रो गन्तव्यमा साउदी अरब परेको छ। साउदीमा ११ हजार सात सय ३२ जना गएका छन्।

यसैगरी कामदारको तेस्रो रोजाइमा कतार परेको छ। यो मुलुकमा १० हजार आठ सय २८ जना पुगेका छन्।

कतारमा सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता हुने भएकाले त्यहाँ पनि कामदारको माग बढ्दो छ।

रंगशालालगायतका पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ। यसैगरी कामदारको चौथो रोजाइमा संयुक्त अरब इमिरेट्स र पाँचौंमा कुबेत छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024