वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी

16 July, 2014

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपालमा मानव बेचबिखनको अवस्था भयावह भएको जनाएको छ। वैदेशिक रोजगारका लागि भन्दै झुक्याएर विदेशमा अलपत्र छाडिएका व्यक्तिको उजुरीले मानव बेचबिखन डरलाग्दो अवस्थामा रहेको तथ्य सार्वजनिक भएको हो।

मकाउको राम्रो कम्पनीमा सुपरमार्केट, सेक्युरिटी गार्ड र चालकको काम लगाइदिने भन्दै नेपाली एजेन्टले २३ जनालाई थाइल्यान्डको बैंकक पुस्याएर एक महिनासम्म बन्धक बनाएको रहस्य खुलेको छ। २३ जनाबाट जनही साढे आठ लाख रुपैयाँ उठाएर बैंकक लागि एउटा होटेलमा राखेर एक महिनापछि अलपत्र छाडिएका उनीहरू नेपाल फर्केर प्रहरीमा उजुरी दिएका थिए।

सीआईबीले मकाउका लागि एजेन्टको काम गर्ने विनोद भनिने बेनबहादुर वाडा, रामकुमार थापामगर, राजन वस्ती, मिलन राई र अनु चाम्लिङ राई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ। उनीहरूले राजधानीमा बसेर मकाउका एजेन्टका लागि काम गर्दै आएका थिए। यीमध्ये श्रेष्ठ टिकेटिङ र विदेश जाने व्यक्ति खोज्ने, चाम्लिङ र अवस्थी पैसा संकलन गर्ने, राई बैंककमा गएर सिमकार्ड संकलन गर्ने, थापामगर काठमाडौंबाट बैंककमा हुन्डीमार्फत पैसा पठाउने काम गर्दै आएका थिए। सीआईबीका अनुसार बैंककमा चारजना त्यस्ता एजेन्ट छन्। उनीहरूले नेपालमा एजेन्ट खडा गरी प्रलोभन देखाएर पैसा उठाउँछन्।

पक्राउ परेका एजेन्टलाई एकजनालाई विदेश पठाएबापत दुईदेखि तीन लाख रुपैयाँसम्म कमिसन मकाउका एजेन्टले दिँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। नेपाली एजेन्टले एक करोड ४० लाख ३१ हजार चार सय ८८ रुपैयाँ उठाएर मकाउका एजेन्टलाई ई(बैंकमार्फत हुन्डीमा पैसा पाएको प्रहरी अनुसन्धानबाट देखिएको छ।

सीआईबीका एसपी सुरेशविक्रम शाहले नेपाली सञ्जाल पक्राउ परे पनि मकाउका एजेन्ट पक्राउका लागि वैदेशिक पहल गर्ने बताए। उनका अनुसार विगत एक वर्षको अवधिमा सीआईबीले २४ वटा मुद्दा अनुसन्धान गरेको थियो। त्यसमा दुई विदेशी नागरिकसहित ८४ जनालाई पक्राउ गरी कारबाहीको दायरमा ल्याएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024