विदेश पठाउने दलाल पक्राउ परे

16 January, 2015

वैदेशिक रोजगारीमा जान पाउने आसमा हिँडेका युवा ठग्ने दलाललाई पक्रेर सार्वजनिक गरेका छन् । बाग्लुङका ५ र सिन्धुलीका ६ युवाले अस्ट्रेलिया र क्यानडा पठाइदिने आश्वासन दिएर लाखौं रुपैयाँ ठग्नेलाई नियन्त्रणमा लिएका हुन् । उनीहरूले भारतको नयाँदिल्लीस्थित आजादपुरबाट दलाललाई पक्रेर बाग्लुङ ल्याई सार्वजनिक गरेका हुन् । पक्राउ पर्नेमा काठमाडौं चाबहिल बस्ने छत्रबहादुर श्रेष्ठ छन् । पक्राउपछि युवाले भारतीय दूतावासमा बुझाएर कागजात गरेपछि बाग्लुङ ल्याएका थिए । ठगिएका ११ जनाले श्रेष्ठलाई बुधबार जिल्ला ल्याएर विदेश जान खोज्ने अन्य युवालाई चिनाएका हुन् । राम्रो कमाइ हुन्छ भन्दै काठमाडौंको एबीसी ओभरसिज प्रालि नामक नक्कली म्यानपावरको नाममा श्रेष्ठले ठग्दै आएको खुलासा भएको छ । ‘मेरोमात्र १३ लाख ठगेको छ,’ बाग्लुङ दर्लिङ २ का २५ वर्षीय महेश केसीले भने, ‘सबैको १० देखि १३ लाखसम्म उठाएको छ ।’ सबै पैसा बुझाएपछि विदेश उड्ने भनी श्रेष्ठ भागेका थिए ।  बाग्लुङकै भीमगिठेका मनोज र सन्तोष केसी तथा दर्लिङ २ का गोविन्द कार्की पनि श्रेष्ठबाट ठगिएका थिए । उनी पक्राउ परेको थाहा पाएर यसअघि ठगिएका सिन्धुलीका युवा पनि बाग्लुङ आइपुगेका छन् । ‘विदेश उडाउने भन्दै मेरो पनि १० लाख ठगेको छ,’ सिन्धुलीका जेवी पाखि्रनले भने, ‘हामीलाई न्याय चाहियो, प्रहरीले पनि चासो देखाएको छैन ।’ दूतावासले पनि जिल्ला प्रहरीलाई आवश्यक कारबाहीका लागि पठाएको हो । प्रहरीमा बुझाए पनि कारबाहीका लागि आलटाल भएको भन्दै युवाले पत्रकार सम्मेलन गरी कारबाही माग गरेका छन् ।   

प्रनाउ प्रेमबहादुर बस्नेतले भने श्रेष्ठलाई प्रमाण अभावमा कारबाही गर्न नसकेको बताए । ‘पैसा बुझाएको कागजात नभएकाले अप्ठ्यारो पर्‍यो,’ बस्नेतले भने, ‘प्रमाण नभेटिएकाले वैदेशिक रोजगार विभागमा पठाउन लागेका छौं ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024