‘विदेश पठाइदिन्छु’ भन्दै ठगेको आरोपमा एक जना पक्राउ

6 February, 2024

खोटाङ — विदेश पठाइदिन्छु’ भन्दै ठगेको आरोपमा खोटाङका एक जना भक्तपुरबाट पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा घर भई मोरङ बेलबारी–२ बस्ने ३३ वर्षीय प्रेम पुरी ठगीको आरोपमा पक्राउ परेका हुन् ।

पुरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न ६ जनालाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा आइतबार पक्राउ गरी दिक्तेल ल्याएर सोमबार सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

कार्कीका अनुसार पुरीले दुबईको सेरागन होटलमा काम पाउाने गरी पठाइदिने भन्दै दिक्तेलका इन्द्रबहादुर खड्का, कर्णबहादुर खड्का, राजेन्द्र खड्का, डिल्ली खत्रीबाट ५०–५० हजार, सोमबहादुर भण्डारीबाट ३५ हजार र जापान पठाइदिने भन्दै बाबुराम खड्काबाट ६ लाख ६० हजार ठगी गरेको उजुरी परेको छ । उनीहरूले २०७५ माघ ८ गते आइएमई मार्फत रकम पठाएको प्रहरीले जनाएको छ ।

खोटाङमा वैदेशिक रोजगारी जाने प्रलोभनमा ४६ जना ठगिएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) खोटाङका संयोजक सन्तोष राईले बताए । उनका अनुसार २०७७ देखि २०८० पुससम्म ४६ जना ठगिएका छन् । यसमध्ये चिनेजानेकाबाट १९ जना, जिल्ला बाहिरका एजेन्टबाट २० जना र मेनपावरबाट ७ जना ठगिएका हुन् ।

चालु आर्थिक वर्षमा मात्र १६ जना ठगिएका छन् । खोटाङका विदेश जान चाहनेबाट एजेन्ट र मेनपावरले १ करोड ५ लाख १३ हजार रुपैयाँ ठगी गरेको पाइएको छ । उनीहरू अधिकांशले आफूहरु ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026