विदेश जाने युवाको अन्तर्वार्ता लिन हेलिकप्टर चार्टर

6 March, 2015

विदेश जाने युवाको अन्तर्वार्ता लिनकै लागि हेलिकप्टर चार्टर गरेर बिहीबार राजधानीबाट वैदेशिक रोजगार व्यवसायीको एक टोली झापा आयो ।  बिर्तामोडस्थित बिर्ता मोडल इंग्लिस स्कुलको प्रांगणमा बिहान साढे ११ बजे हेलिकप्टर ओर्लिनुअघि स्थानीयले लख काटे-उच्चपदस्थ कोही आए होलान् ∕ तर उनीहरूको अनुमान मिलने । किनकि हेलिकप्टरमा कञ्चन ह्युमन रिसोर्स प्रालिका प्रबन्ध निर्देशक किरणकिशोर घिमिरे, व्यवस्थापक प्रेम बिमली, दुबईस्थित कम्पनीका प्रकाश सिंह र प्रिन्स सिंह थिए । वैदेशिक रोजगारीमा जाने झापाली युवाको अन्तर्वार्ता लिनकै लागि यो टोली झापा ओर्लिएको थियो ।  ‘भीआईपी नै आएछन् भन्ने लागेको थियो,’ हेलिकप्टर हेर्न बिर्ता मोडल स्कुल पुगेका स्थानीय प्रकाश राजवंशीले भने, ‘मेनपावरका मान्छे पो रहेछन् ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार टर्किस एयरको जहाज दुर्घटनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएकाले हेलिकोप्टर चार्टर गर्न बाध्य भएको कञ्चन ह्युमन रिसोर्स प्रालि बिर्तामोडका प्रबन्ध निर्देशक जीवन दाहालले बताए । मेनपावर कम्पनीले दुबईको एयरपोर्ट क्लिनरका लागि बिहीबार फाइलन अन्तर्वार्ताको समय पहिले नै तय गरेको थियो । बिर्तामोडको मुन टावर होटलमा अढाई सय युवा सहभागी बनेका थिए । दाहालका अनुसार कम्पनीले हेलिकप्टर चार्टर गर्न २ लाख ७० हजार खर्चिएको छ ।  ‘अन्तर्वार्ताको समय पहिले नै तय गरिएको थियो,’ दाहालले भने, ‘अन्तर्वार्ताका लागि विभिन्न जिल्लाबाट युवाको भीड लागेका कारण अन्तर्वार्ता स्थगित गर्नुका साटो हेलिकप्टर चार्टर गरेका हौं ।’ 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026