विदेश जाँदा बोक्न पाउने रकमको सीमा तोक्ने तयारी

1 March, 2015

नेपाल राष्ट्र बैंकले नेपालीले विदेश जाँदा बोक्नपाउने रकमको सीमा तोक्ने तयारी गरेको छ। वैधानिकरुपमा रेमिटेन्स आउने क्रम पछिल्ला महिनामा सुस्त भएकोले राष्ट्र बैंकले रोजगारी, अध्ययन, भ्रमण र उपचारका लागि विदेश जाँदा बढीमा पाँच हजार रुपैयाँसम्ममा मात्र बोक्न पाउने गरी नीतिगत व्यवस्था गर्न लागेको हो।

नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका कामु कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले नेपालीले विदेश जाँदा बोक्ने रुपैयाँ व्यवस्थित गर्न लागिएको जानकारी दिए। 

हालसम्म नेपालीले विदेश जाँदा कति रुपैयाँ बोक्न पाउने भन्ने स्पष्ट व्यवस्था छैन। ‘नेपालीले कति रुपैयाँ बोकेर विदेश जान पाउने भन्ने नीतिगत व्यवस्था छैन, उनले भने, ‘यस कारण नेपाली रुपैयाँ अनावश्यकरुपमा खाडी र मलेसियामा पुग्ने गरेको छ।’

खाडी र मलेसियामा रहेका रेमिटेन्स ऐजेन्ट र हुन्डी सञ्चालकले नेपालीले कमाएको पैसा नेपाल फर्कंदा नेपाली रुपैयाँमा दिने गरेको गुनासो बढी आएपछि राष्ट्र बैंकले विदेश जादा बोक्ने पैसामा सीमा निर्धारण गर्न लागेको हो। 

चालू आर्थिक वर्षको सुरु देखिनै रेमिटेन्स आर्जनको वृद्धिदर ओरालो लागेको छ। राष्ट्र बैंकले रेमिटेन्स घटेको विषयमा गरेको अध्ययनको प्रारम्भिक निष्कर्षमा रेमिटेन्सबाट आर्जन हुने पैसाबाट हुने आर्थिक क्रियाकलाप नघटे पनि प्रक्रियाबाट आउने रेमिटेन्स रकम घटेको पाइएको थियो।

नेपालीले कति रुपैयाँ बोकेर विदेश जान पाउने भन्ने नीतिगत व्यवस्था छैन। यस कारण नेपाली रुपैयाँ अनावश्यकरुपमा खाडी र मलेसियामा पुग्ने गरेको छ। -भीष्मराज ढुंगाना, कामु कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक 

‘नेपालीले विदेशबाट फर्कंदा वैधानिकरुपमा ल्याउन पाउँने सुन र टेलिभिजनको आयात पनि बढेको देखिएको छ’ अध्ययनको प्रारम्भिक निष्कर्षमा भनिएको छ,’ नेपाल फर्कंदा कामदारले कमाएको पैसा नेपाली रुपैयाँ नै विदेशमा साटिने भएको र यसरी कामदारले आर्जन गरेको विदेशी रुपैयाँ अवैधानिकरुपले सुन आयातका लागि प्रयोग हुने गरेको छ।’

त्रिभुवन विमानस्थलको बाटोहुँदै सुन तस्करी गर्नेले विदेशमा नेपाली रुपैयाँ लैजाने गरेको र यसले नेपालल आर्जन गर्ने विदेशी मुद्रामा कमी आएको अनुमान राष्ट्र बैंकका अधिक ारीको भनाइ छ। 

नेपालीले विदेश जाँदा नेपाली रुपैयाँ प्रयोग गर्ने त्रिभुवन विमानस्थलमा र फर्कंंदा विमानस्थलदेखि आफ्नो निवाससम्म आउँदा हो। विमानस्थलमा गर्ने खर्चको आधारमा बढीमा पाँच हजार रुपैयाँसम्म आवश्यक हुने देखिएकोले त्यती रकम बोक्न पाइने गरी नीतिगत परिवर्तन गर्ने तयारी भएको राष्ट्र बैंकका कामु निर्देशक ढुंगानाले बताए। 

‘नीतिगत परिवर्तन गर्ने समयमा लैजान पाइने रकममा केही तलमाथि हुन सक्छ’, उनले भने,’ अहिले नेपालीले विमानस्थलमा खर्च गर्ने आधारमा हेर्दा पाँच हजार रुपैयाँ भयो भने पुग्छ भन्ने हो।’

राष्ट्र बैंकले नीतिगत व्यवस्थामा परिवर्तन गरेपछि अध्यागमन विभागलाई पत्रचार गर्नेछ। राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार विभागका कर्मचारीले विदेश जाने नेपालीले बोक्ने नेपाली रुपैयाँ पाँच हजारभन्दा बढी भए एअरपोर्टबाट फिर्ता गर्ने छन्। यस्तो व्यवस्था नेपाल घुम्न आएका विदेशी पर्यटकको हकमा पनि लागू हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार रेमिटेन्सको आर्जनको वृद्धिदरमा आएको कमीले शोधानान्तर बचतसमेत घटेको छ। अघिल्लो आर्थिक वर्ष ७७ अर्बले बचतमा रहेको शोधानान्तर चालू आर्थिक वर्षको ६ महिनासम्ममा मात्र ३४ अर्ब २६ करोडले मात्र बचतमा छ। अघिल्लो वर्ष ३४ प्रतिशतले बढेको रेमिटेन्स वृद्धिदर अहिले ३.९ प्रतिशतले मात्र बढेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026