‘विदेशमा व्यवसाय चुनौतीपूर्ण छ’

19 October, 2014

बागलुङको भिमपोखरा-६ मुलथानामा जन्मिएका नरेन्द्रबहादुर हमाल अहिले युरोपेली मुलुक पोर्चुगलमा व्यवसाय गर्छन्। ‘किचन हेल्पर’को रुपमा त्यहाँ पुगेका हमालले व्यवसायीको रुपमा स्थापित भएर अहिले तीन दर्जन नेपालीलाई रोजगारी दिएका छन्। हमाल अहिले पोर्चुगलमा ‘नेपाली खानाको प्रचारप्रसार’मा जुटेका छन्। आफ्नो व्यवसायसँगै नेपालको पहिचानलाई युरोपमा स्थापित गर्न लागि परेको उनले बताए। उनले त्यहाँ चार रेस्टुरेन्टमा करिब २८ करोड लगानी गरेका छन्। हमालसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानीः  

रोजगारीको लागि युरोप पुगेको व्यक्ति कसरी व्यवसायीको रुपमा स्थापित हुनुभयो? म सुरुमा किचन हेल्परको रुपमा युरोप पुगेको थिएँ। निकै मेहनत, परिश्रम र दुःख गरेपछि काम गर्ने रेस्टुरेन्टमा कुक काम गर्ने मौका पाएँ। तत्कालिन अवस्थामा नेपालमा द्वन्द्व भएकोले स्वदेश फर्किन कठिन थियो। आफुले सीप सिकेपछि केही गर्नुपर्छ भन्ने मान्यताले रेस्टुरेन्ट गर्न सुरु गरेँ। विदेशमा नेपालीले व्यवसाय सुरु गर्न निकै चूनौतीपूर्ण थियो। नेपालको पहिचान दिने नेपाली खानाको सेवा दिन थालेपछि क्रमशः विदेशीहरु आकर्षित हुँदै गएर व्यवसायलाई अघि बढाएँ। अहिले कति नेपाली रेस्टुरेन्ट चलाउनु भएको छ? चार वटा रेस्टुरेन्ट सञ्चालन गरेको छु। सुरुमा नेपालको पहिचानलाई जोड्ने गरी ‘माउन्ट एभरेस्ट रेस्टुरेन्ट’ सुरु गरेको थिएँ। नेपाली खानाको विदेशमा प्रचार गर्नुपर्छ भन्ने उद्देश्यले अर्को ‘टेस्ट अफ नेपाल’ नामको रेस्टुरेन्ट सुरु गरेँ। योसहित लिस्बन सहरका विभिन्न ठाउँमा खोलिएका दुई ‘माउन्ट एभरेस्ट’ नामका रेस्टुरेन्टमा पनि नेपाली खानाको स्वाद प्रदान गर्दै अघि बढेको छु। विदेशमा पनि किन नेपाली खानालाई प्राथमिकतामा राखेर रेस्टुरेन्ट चलाउनु भयो? रोजगारीको लागि वाध्यताले विदेशीए पनि आफ्नो मुलुकको लागि केही गर्नुपर्छ भन्ने मेरो मान्यता थियो। त्यसैले आफुले रेस्टुरेन्ट व्यवसाय सुरु गरे पनि व्यावसायिक सफलता र मुलुकको पहिचानको लागि पनि केही फरक गर्नुपर्छ भन्ने उद्देश्यले नेपाली खानालाई मुख्य प्राथमिकतामा राखेर यो व्यवसायमार्फत अघि बढेको हुँ। जसले आफ्नो देशको पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्य पनि हो। रेस्टुरेन्टबाट नेपाली खानाको प्रचारको लागि केही कार्यक्रम बनाउने गर्नु भएको छ? मेरो मुख्य उद्देश्य नेपालको प्रचारसँगै व्यावसायिक सफलता पनि हो। त्यहाँका विभिन्न सहरमा हुने विभिन्न मेलाहरुमा नेपाली खानाको स्टल नै राखेर प्रवर्द्धन गर्ने गरेका छौँ। विदेशीहरु पनि फरक स्वाद चाख्न उत्सुक हुने भएकोले नेपाली खानाप्रति आकर्षित हुने गरेका छन्। नेपाली खाना लाम लागेर खाने गरेका छन्। नेपाललाई चिनाउने कस्ता परिकार दिनुहुन्छ? नेपाली खानाको आइटम सहित विभिन्न परिकार हामीले दिने गरेका छौं। खानामार्फत देशको पर्यटन प्रवर्द्धनलाई पनि जोड्ने योजना अनुसार विभिन्न पर्यटकीय क्षेत्र जोडेर समेत खानाका परिकार बनाएका छौँ। लाम नेपाल, चिकन नेपाल हट, प्राउन एभरेस्ट, बागलुङ पासन्दा, चिकन चितवन, काठमाडांै तरकारी, एभरेस्ट मलाइकना लगायत यहाँका विभिन्न पर्यटकीय स्थलसँग नाम जोडिएका खानामा विदेशी रमाउँछन्। इन्डियन खानालाई समेत मोडिफाइ गरेर नेपालीपन दिन्छौं। ग्राहक नेपाली की युरोपेली? मेरा रेस्टुरेन्टहरुका अधिकांश ग्राहक पोर्चुगलका मध्यम वर्गीयदेखि उच्च वर्गका परिवारहरु रहेका छन्। पोर्चुगल बाहेक अन्य देशबाट आउनेहरु पनि नेपाली खानाको स्वाद लिन आउने गर्छन्। सुरुमा त्यहाँका पत्रकार आएर खाना खाएपछि गुणस्तर र स्वादबाट आकर्षित भएपछि मिडियाले प्रचार गरेपछि चाप झन् बढेको थियो। विदेशमा व्यवसाय सञ्चालन कति कठिन छ? हाम्रो देशमा कानुनको कार्यान्वयन नहुँदा समस्या छ। त्यहाँ नीति अनुसार सबै चल्नु पर्छ। व्यवसाय सञ्चालन अनुमति, राज्यलाई तिर्नुपर्ने कर, कामदारको कर, प्रदान गर्ने सेवा, गुणस्तरको विषयमा कुनै कम्प्रमाइज हुँदैन। कामदार कर्मचारी, घर भाडा, पानी बिजुली समस्या हुन्छ। निकै जोखिम मोलेर रातदिन नभनी मेहनत गरेर ग्राहकको मन जित्ने काम जटिल छ। मेहनत गरेपछि सफलता मिल्छ। शून्यबाट विस्तारै सफलता हा पार्न सकिन्छ। तर व्यवसाय सुरु गरेपछि ढुक्कसँग व्यवसाय गर्ने सुरक्षाको वातारणको सुनिश्चित छ। रेस्टुरेन्टबाहेक अन्य कुन क्षेत्रमा लगानी गर्नु भएको छ? तल्लो स्तरको काममा गएर व्यवसाय सुरु गरेकोले रोजगारीकेा वातावरण सिर्जना गर्नुपर्छ भन्ने मान्यता मेरो हो। स्वदेश र विदेशका विभिन्न क्षेत्रमा लगानी गरेका छौं। पोर्चुगलमा कृषि, डिपार्टमेन्टल स्टोर्स र स्वदेशमा जलविद्युत, शिक्षा, अस्पतालमा लगानी गरेका छौं। गैर आवासीय नेपालीले स्वदेशमै लगानी बढाउनको लागि के गर्नु पर्ला? हाम्रो इच्छा विदेशमा जति सुखसुविधा भए पनि आत्मामा नेपालको लागि केही गर्नुपर्छ भन्ने हुन्छ। ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मान्यता हुन्छ। नेपालमा सुरक्षको वातारण चाहियो। दोहोरो नागरिकताको व्यवस्था नहुँदा विदेशमा बस्ने नेपालीलाई ग्यारेन्टी भएको छैन। राज्यले दोहोरो नागरिकताको व्यवस्था गरे लगानी गर्न सजिलो हुन्थ्यो। मुलुकमा शान्ति संविधान बन्यो भने नेपालमा आएर केही लगानी गर्ने रोजगारीको अवस्था सिर्जना गर्ने र मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ। विदेशमा सबै कुराको ग्यारेन्टी छ। कर प्रणाली राम्रो भएकोले राज्यलाई आम्दानी हुन्छ। राज्य बलियो भयो भने मुलुकले स्वतः आर्थिक फड्को मार्न सक्छ। त्यसैले नीति तयार गरेर कार्यान्वयनमा कडाई गर्नुपर्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024