विदेशमा रहेका नेपालीको विवरण अब ‘श्रम संसार एप’ मा

27 June, 2025

काठमाडौँ — श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले एपको परराष्ट्र मन्त्रालयबाट बिहीबार उद्‍घाटन गरेका हुन् ।

यो एपमा विदेशमा रहेका नेपालीहरुले आफ्नो विवरण दर्ता गराएपछि यस मार्फत् कहाँ, कुन अवस्थामा र कति संख्यामा नेपालीहरु रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवं श्रम मन्त्रालयलाई गर्न सहज हुनेछ ।

विवरण प्राप्त भएपछि नेपालीहरु रहेका देशमा आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाहरुको तत्कालै उद्धार गर्न समेत सहज हुनेछ । परराष्ट्रमन्त्री राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौँ नेपालीहरु सूचनाकै अभावका कारण ठगिएका, दुःख पाएका र विभिन्न समस्यामा परेका गुनासाहरु मन्त्रालयमा आउने गरेकाले अब यो एप सञ्चालनमा आएपछि यसबाट प्राप्त विवरणका आधारमा उनीहरूलाई कन्सुलर सेवा प्रदान गर्न सजिलो हुने बताइन् ।

साथै श्रम स्वीकृति बेगर नै श्रम गन्तव्य देशमा पुगेर काम गरिरहेकाहरुलाई पनि सम्बद्ध देशको नेपाली दूताबासबाटै श्रम स्वीकृति दिनेगरी ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने निर्णय भएकाले उनीहरूलाई सहज हुने पनि मन्त्री राणाको भनाइ थियो ।

‘विशेषगरी श्रम स्वीकृतिबिना नै विभिन्न देशमा पुगेका र हाल त्यहाँ काम गरिरहेकाहरुका लागि उहाँहरुको संरक्षण, सुरक्षाका लागि यो ‘वैधानिकीकरण श्रम स्वीकृति’ को व्यवस्था सम्बन्धित दूताबासबाटै दिनेगरी व्यवस्था मिलाइएको हो । यसको अर्थ अवैध रुपमा जानेहरुलाई प्रोत्साहन गरेको भने होइन,’ उनले भने ।

श्रममन्त्री भण्डारीले ‘श्रम संसार एप’ र वैधानिकीकरण श्रम स्वीकृतिको व्यवस्थाले वैदेशिक रोजगारीका क्षेत्रमा ठूलो राहत प्रदान गर्ने बताए । उनले नेपालीहरू को कहाँ र कति छन् भन्ने जानकारी मात्र नभएर कागजविहीन भएर बसेका, सम्बन्धित श्रम गन्तव्यमा जाँदा श्रम स्वीकृति नलिएका तथा अन्य विविध कारणले समस्यामा परेर आफूले पाउने आधारभूत सेवा सुविधाबाट पनि वञ्चित भएका नेपाली श्रमिकहरुलाई यसले ठूलो सहायता प्रदान गर्ने उनको भनाइ थियो ।

परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको यस एपलाई सम्बद्ध देशका नेपाली राजदूतावासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको छ । सो एपमा ती देशमा रहेका नेपालीहरूले आफ्नो विवरण भने भर्नुपर्नेछ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024