नेपाल राष्ट्र बैंकले १ लाख रुपैयाँभन्दा बढीको रेमिट्यान्स बैंक खाता वा चेकमार्फत भुक्तानी दिनुपर्ने नयाँ व्यवस्था गरेको छ। राष्ट्र बैंकको यस्तो व्यवस्थापछि १ लाख रुपैयाँसम्मको रेमिट्यान्समात्रै नगदमा भुक्तानी लिन पाउने छन्। राष्ट्र बैंकले गत १४ मंसिरमा रेमिट्यान्स कारोबार व्यवस्थित गर्न भुक्तानी अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था गरेको थियो। राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै व्यवस्था संशोधन गरेको हो।
राष्ट्र बैंकले ग्राहकलाई खातामार्फत भुक्तानी दिने व्यवस्था १ वर्षभित्र मिलाउन वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकलाई निर्देशन दिएको थियो। यस्तो व्यवस्था अव्यावहारिक भएको बताउँदै बैंकरले राष्ट्र बैंकलाई परिपत्र सच्याउन माग गर्दै आएका थिए।
राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानीका लागि समान विनिमय दर कायम गर्न बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीलाई निर्देशन दिएको छ। संस्थाअनुसार सटही दर फरक–फरक भएपछि राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानीका लागि समान दर कायम गर्न निर्देशन जारी गरेको हो।
निर्देशनअनुसार वाणिज्य बैंकहरूले बिहान १० बजे र दिनको २ बजे रेमिट्यान्स विनिमय दर प्रकाशित गर्नुपर्नेछ। औसत दरलाई आधार मानी बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीले रेमिट्यान्स प्रयोजनका लागि समान रूपमा विनिमय दर कायम गर्नुपर्नेछ।
औसत दर बैंकको विदेशी विनिमय कारोबारी संस्था फेडानमार्फत तय हुने गर्छ। फेडानले दैनिक दुईपटक प्रकाशन गर्ने रेमिट्यान्स विनिमय दर बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीलाई उपलब्ध गराउनेछ। सोही औसत दरका आधारमा कम्पनीले ग्राहकलाई सटही सुविधा दिनुपर्ने राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो।