रेमिट्यान्सले फेरियो दैनिकी

2 May, 2025

प्रेमनारायण आचार्य

अर्घाखाँचीका अधिकांश गाउँमा विदेशबाट पठाएको रकमले मानिसहरूको दैनिकी फेरिएको छ। अधिकांश घरका मानिसहरू विदेश गएपछि कमाएको पैसोले गाउँका घरहरू पनि चिटिक्क पारिएका छन्। केही घरहरू आरसीसी गरेर बनाइएका छन्। अधिकांश घरहरू ढुंगा र टिनले छाएका देख्न सकिन्छ। खरले छाएका घरहरू फाट्टफुट्ट मात्र देखिन्छन्।

गाउँगाउँमा सडक खुलेसँगै अधिकांश सामग्री गाउँमा पाइन्छ। महिला, वृद्धवृद्धाहरूको हातमा समेत अधिकांशमा एन्ड्रोइड मोबाइल देखिन्छ। सबै घरमा बिजुली बत्ती पुगेको छ। घरघरै नेटको सुविधा छ। विदेशमा रहेका आफन्तसँग भिडियो कलमा कुरा हुन्छ। छोराछोरीहरूलाइ बोर्डिङ स्कुलमा पढाएका छन्। खानपान मात्र हैन, उनीहरूको दैनिकी पनि फेरिएर सहरिया बनेको छ। अहिले गाउँगाउँमा पुगेका ट्याक्सी चढेर मानिसहरू सदरमुकाम तथा काम परेको स्थानमा पुग्ने गर्छन्। मोटरसाइकल नभएका घर कमै छन्।

पहिल आफन्तले पैसा पठाएको खबर गरेपछि बिहानै झिसमिसेमा उठेर गाडी चढेर सदरमुकाम जानुपथ्र्यो तर अहिले आफ्नै गाँउमा खुलेका बैंक र सहकारीले सजिल्यै दिन्छन्। विदेशबाट पठाएको पैसाले अहिले गाउँको दैनिकी फेरिएको छ। रोजगारीका लागि विदेशमा गएका आफन्तले पठाएको विप्रेषणको रकमले उनीहरूको दैनिकी फेरिएको हो। गाउँगाउँमा पसलहरू खुलेका छन्। अर्घाखाँचीबाट मात्रै ५५ हजारको हाराहारीमा युवाहरू वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा गएका युवा तथा भारतमा काम गरेर कमाएको पैसाले स्थानीय स्तरमै स्वरोजगार पनि बनेका छन्। युरोप, अमेरिका, अष्ट्रेलिया, जापान लगायतका देशमा जाने युवायुवतीको संख्या यसमा समावेश गरिएको छैन। गैरकानुनी ढंगले जाने, प्रक्रिया पूरा नगरी वा पर्यटन भिसामा जाने तथा अध्ययन भिसामा जानेहरूको तथ्यांक कतै भेटिँदैन। अर्घाखाँचीबाट आर्थिक वर्ष ०७९/८० मा ६ सय ३३ महिलासहित ९ हजार ५ सय २६ जना रोजगारीका लागी विदेश गएका थिए। नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने आप्रवासी कामदारको संख्या ७८ लाखभन्दा बढी छ। देशमा सीमित रोजगारीका अवसर, गरिबी लगायतका कारण वैदेशिक रोजगारीप्रति आकर्षित बढी रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए।

गत आर्थिक वर्ष ०७९/८० मा ७ लाख ७१ हजार ३ सय २७ रोजगारीका लागि विदेश गएका थिए। यो संख्या गएको १७ वर्षयताको उच्च संख्या हो। चालु आर्थिक वर्षको ज्येष्ठ मसान्तसम्म ६ लाख ९ हजार ६९९ जना कामका लागि विदेश गएका थिए। अहिलेसम्म विदेश जानेहरूमध्ये ९३ प्रतिशत जनसंख्या मलेसिया तथा खाडीमुलुकमा गएका छन्। बाँकी ७ प्रतिशत नागरिक जापान, बहराइन, कोरिया, क्रोएसिया लगायतका देशमा छन्। विदेशबाट पठाएको पैसाको ७२ प्रतिशत रकम घर खर्चमा गएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। यस्तै १५.८० प्रतिशत रकम ऋण तिर्न, ४.६० प्रतिशत छोराछोरीको अध्ययन र १.९० प्रतिशत रकम घरजग्गामा खर्च भएको छ। यसको १.९ प्रतिशत रकम बचत गरिएको छ। नेपालभरका ५६ प्रतिशत घरपरिवार र लुम्बिनी प्रदेशका ८९.६ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्छन्।

अर्घाखाँची विदेशबाट पैसा आउने जिल्लामध्ये अग्रपंक्तिमा पर्छ। तर, त्यो पैसा उत्पादनशील क्षेत्रमा लगाउने वातावरण नहुँदा श्रम बेच्ने मानिस उत्पादन गर्ने काम मात्र भइरहेको छ।

साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी सस्थाले दुई वर्ष अघि गरेको अनौपचारिक सर्भेक्षणअनुसार जिल्लामा भित्रिएको रेमिट्यान्सको ८० प्रतिशत रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ। स्थानीय सरकारले व्यवसाय र स्वरोजगारमुखी कार्यक्रम ल्याउन नसक्दा पनि रेमिट्यान्सको पैसा बाहिर जाने गरेको छ। वार्षिक झन्डै साढे ७ अर्ब रुपैयाँ अर्घाखाँची भित्रने गरेको छ। त्यसमध्ये तीन ३ अर्थात ४० प्रतिशत रकम दैनिक उपभोग्य सामग्री, खानपान, मोटर साइकल, कार, इन्धन, लत्ताकपडा, मोबाइल, सञ्चार तथा टेलिफोनमा खर्च हुने गरेको छ।

४० प्रतिशत रकम अर्थात् ३ अर्ब रुपैयाँ उत्पादनन हुने क्षेत्र अर्थात् घडेरी र घरमा खर्च हुने गरेको अर्घाखाँची जिल्ला बचत सहकारी संस्थाका अध्यक्ष तथा साथी सहकारीका अध्यक्ष प्रकाश भुसालले बताए। उनकाअनुसार जिल्ला सदरमुकाम, कपिलवस्तुका विभिन्न भाग तथा रुपन्देहीको बुटबल, भैरहवा, दाङ, चितवन र काठमाडौंमा घरघडेरी किन्नेमा खर्च भएको छ।

विदेशबाट आएको रकमको २० प्रतिशत मात्र कृषिफर्म, सानाहोटल, किराना पसल र ट्याक्सी तथा बस जस्ता उत्पादनशील क्षेत्रमा खर्च भइरहेको छ। तर यस्तो व्यवसाय गर्नेहरूले पनि बीचैमा व्ववसाय छाड्ने गरेका छन्।

वैदेशिक रोजगारीमा गएका युवाहरूले कमाएको पैसा विलासिता र दैनिक उपभोग्य सामग्रीमा खर्च भएकाले उक्त रकम उत्पादनमूलक कार्यमा खर्च गर्नुपर्ने खालको नियमनै बनाएर अगाडि बढ्न सकेमा मात्र उत्पादनशील क्षेत्रमा खर्च हने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए। वैदेशिक रोजगारीमा युवाहरूलाई जानबाट रोक्न स्थानीय सरकारले पनि काम गरिरहेका छन्। विदेशबाट फर्किएर गाउँमै कृषि र पशुपालन गर्ने युवाहरूलाई नगरपालिकाले प्राविधिक सहायताका साथै विभिन्न अनुदानका कार्यक्रम पनि सञ्चालन गरिरहेको सन्धिखर्कका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए। परम्परागत कृषि पेसालाई आधुनिक र प्रविधियुक्त बनाउन मिनी टिलर, कुटानी पिसानी मिल लगायतका सामग्रीहरू कृषकलाई हस्तान्तरण गरेको छ। बिभिन्न तरकारीका बिउ मल आदि पनि प्रदान गर्दै आएको शीतगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले बताए।

प्रतिवर्ष ५ लाखभन्दा बढी मानिस श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्रालयका अधिकृत प्रदीप खनालले बताए। नेपालबाट दैनिक २ हजारभन्दा बढी मानिस श्रम स्वीकृति लिएर बिदेसिने गरेका छन्।

बिदेसिने क्रम बढेसँगै आर्थिक वर्ष ०८०/८१ मा १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब, ४५ अर्ब, ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। जुन जीडीपीको २५.३ प्रतिशत हो। नेपालबाट श्रम गर्न जाने मुख्य देसहरू संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, क्रोसिया, रोमानिया, जापान, दक्षिण कोरिया र बहराइन लगायतका देश छन्। नेपालबाट १ सय ११ देशमा श्रम गर्न जान सकिने कानुनी मान्यता छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026