युवतीलाई झुक्याएर सिरिया पठाउने पक्राउ

6 April, 2015

प्रहरीले विभिन्न मुलुकमा लगेर युवती बेच्ने गरेको अभियोगमा संखुवासभा आँखीभुइँका आशीष भनिने केदारबहादुर खड्कालाई पक्राउ गरेको छ।

खड्काले ब्युटीपार्लरमा कामका लागि दुबई पठाइदिने भन्दै सिरियामा लगेर नेपाली युवती बेच्ने गरेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।

 सात हजार अमेरिकी डलरमा सिरियामा बेचिएर भाग्न सफल एक महिलाले दिएको उजुरीका आधारमा खड्कालाई गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेटबाट पक्राउ गरिएको हो।

 खड्काले ती महिलालाई सात हजार अमेरिकी डलरमा घरेलु काम गर्नका लागि सिरियामा बेचेका थिए।

 प्रहरीका अनुसार खड्काले ती महिलालाई ब्युटीपार्लरमा काम गर्न दुबई पठाइदिने भन्दै झुक्याएर सिरियाको एक निजी घरका मालिकलाई बेचेका थिए। सीआईबीकी प्रहरीउपरीक्षक किरण बज्राचार्यले मानवतस्करीमा संलग्न रही फरार भएका अन्य दुईजनाको पनि खोजी भइरहेको जानकारी दिइन्।

खड्काले ती महिलालाई २०६९ असार २८ गते सिरिया पठाएका थिए। ती महिलाले दैनिक १९-२० घन्टा काम गर्न लगाई आफूलाई बन्धक बनाइएको बयान प्रहरीलाई दिएकी छन्। 

उनले राहदानी माग्दासमेत मालिकले नदिएको र सात हजार डलरमा किनेको भन्दै तलबसमेत नदिएको बताएकी छन्। घरधनीले आफूमाथि मानसिक तथा शारीरिक यातना दिएको पनि उनले बताएकी छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024