युके र कतार पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

27 June, 2025

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दोलखाको बैतेश्‍वर गाउँपालिका-३ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका-६ बस्ने ३१ वर्षीया नबिना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका-४ घर भई काठमाडौंको कागेश्‍वरी मनोहरा नगरपालिका-९ बस्ने ४३ वर्षीय लछुमन साह तेली रहेका छन्।

पक्राउ परेकामध्ये नबिनाले युके पठाइदिन्छु भन्दै २ जना पीडितबाट ५२ लाख रुपैयाँ र लछुमनले कतार पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ६ लाख रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले नबिनालाई काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट मंगलबार र लछुमनलाई काठमाडौं महानगरपालिका-३२ काँडाघारीबाट बुधबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026