‘म्यारिज ब्युरो’ नाममा चेली बिक्री गर्ने पक्राउ

7 March, 2015

नेपाली युवतीलाई रोजगारीको प्रलोभनमा चिनियाँ र कोरियाली नागरिकसँग ‘विवाह गराई बिक्री गर्ने’ गिरोह पक्राउ परेको छ। राजधानीको चुनदेवीमा म्यारिज ब्युरो नै खोलेर यस्तो गतिविधि गरिरहेका एक कोरियाली नागरिकसहित दुई नेपालीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।  छेरु इन्टरनेसनल म्यारिज ब्युरोकी सञ्चालिका सोलुखुम्बुकी ५२ वर्षीया पासाङ शेर्पा भनिने छेरु शेर्पा, उनका सहयोगी काठमाडौं महांकालका ३२ वर्षीय विपिन नगरकोटी र दक्षिण कोरियाली नागरिक ६१ वर्षीय हि चाङ पार्कलाई सीआईबी टोलीले पक्रेको हो। ब्युरो प्रमुख नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्लका अनुसार शेर्पा तस्करीकी मुख्य योजनाकार हुन्। उनले युवतीहरूलाई विभिन्न प्रलोभन देखाएर विदेशीसँग बिहे गराउने काम गर्थिन्। यस्तै नगरकोटीले मंगोलियन अनुहार भएका युवतीहरूलाई फकाएर म्यारिज ब्युरोमा पुर्‍याउने काम गर्थे। कोरियन नागरिक चाङले कोरिया तथा चिनियाँ नागरिकलाई नेपाली युवतीको फोटो पठाएर मन परेपछि नेपाल बोलाउने दलालीको काम गर्थे। डीआईजी मल्लका अनुसार गिरोहलाई १५ लाखदेखि २० लाख रुपैयाँमा नेपाली युवतीलाई बिक्री गरेको पाइएको छ।  गत महिना चीन पुर्‍याइएकी एक किशोरीले बेइजिङस्थित नेपाली दूतावास गएर ‘आफूलाई झुक्याइएको, शारीरिक र मानसिक शोषण भएको’ भन्दै गुनासो गरेकी थिइन्। उनले उद्धार गरिदिनसमेत अनुरोध गरेकी थिइन्। यसबारे दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी पठाएपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो। प्रहरीले म्यारिज ब्युरोमा छापा मारी ‘बिहे गरेर जान लागेका’ पाँच र विदेशबाट भागेर आएकी १ गरी ६ जनाको उद्धारसमेत गरेको छ। प्रहरीले तीनै अभियुक्तविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराधको मुद्दामा अदालतबाट म्याद थपी अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार म्यारिज ब्युरो ९ महिनाअघि मात्र दर्ता भएको हो।  म्यारिज ब्युरोका दलालले विदेशीसँग बिहे गरे भिसा पाउन सजिलो हुने र मासिक एक लाख रुपैयाँ कमाइ हुने प्रलोभन देखाउँदै आएका हुन्। त्यसरी जान इच्छुक युवतीको राहदानी र अन्य सबै प्रक्रियामा लाग्ने खर्च ब्युरोले नै बेहोर्दै आएको हो। काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाट युवतीहरूको विवाह दर्ता प्रमाणपत्र बनाउने गरिएको थियो। विवाहको प्रक्रिया पूरा भएपछि युवतीलाई सम्बन्धित पुरुषले नै लान्थे। तर चीन, कोरिया पुर्‍याइसकेपछि ग्रामीण इलाकामा पुर्‍याएर शारीरिक र मानसिक यातना दिइने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ। उनीहरूलाई छोरा जन्माउन भनेर जबर्जस्ती यौन शोषण गराउन लगाएको पाइएको छ। ‘एक जनासँग मात्र नभएर थुप्रैबाट यौन शोषण गर्न लगाइँदो रहेछ,’ ब्युरोकी प्रहरी उपरीक्षक (एसपी) किरण वज्राचार्यले भनिन्, ‘जनवारको भन्दा नराम्रो व्यवहार हुँदोरहेछ।’ म्यारिज ब्युरो भएको सिंगो घर नै भाडामा लिई होटलको झैं कोठा सुविधा उपलब्ध गराएर युवती र विदेशीहरूलाई भिसा प्रक्रिया अवधिभर सँगै राखेको समेत पाइएको छ। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026