बागलुङ पाखाथरका राजीव सापकोटा नेपालमा स्वास्थ्य परीक्षण गराएर गत भदौ ५ मा मलेसिया उडे। उता पुगेपछि फोमेमा (मलेसियामा स्वास्थ्य परीक्षण गर्ने संस्था) ले परीक्षण गर्दा उनको छातीमा दाग भेटियो। पुगेको महिनादिन नहुँदै ‘मेडिकल अनफिट’ भन्दै उनलाई नेपाल फर्काइयो।
सापकोटा मात्र होइन, यहाँबाट मेडिकल पास भएर जाने र मलेसियाबाट अनफिट भई फर्केने कामदारको संख्या बढ्दो छ। म्यानपावर कम्पनी, एजेन्ट र मेडिकलको मिलेमतोमा नेपालमा मेडिकल फेल भएका कामदारलाई जानाजान पास भनी मलेसिया पठाइँदा यस्तो समस्या देखिएको हो। कमिसन लोभमा कामदारको नक्कली मेडिकल रिपोर्ट बनाएर मेडिकलले म्यानपावर कम्पनीलाई दिने र म्यानपावरले त्यसैका आधारमा भिसा मगाएर मलेसिया पठाउने गरिरहेका छन्।
नेपालमा मेडिकल गरे पनि मलेसिया पुगेपछि एक महिनाभित्र अनिवार्य पुनः स्वास्थ्य परीक्षण गर्नुपर्छ। मलेसियामा फोमेमाले गर्ने मेडिकलमा मासिक ६ सयभन्दा बढी नेपाली कामदार अनफिट हुने गरेका छन्। तिनलाई सिधै नेपाल फर्काइन्छ। बसुन्धारास्थित गोर्खाज एसोसिएट्स म्यानपावरबाट मलेसिया गएका सापकोटाले सनराइज मेडिकलमा स्वास्थ्य परीक्षण गरेका थिए। उनको हातमा सुधा हेल्थ केयर मेडिकलको रिपोर्ट आयो, त्यही रिपोर्ट लिएर गएका उनी छातीमा दाग देखिएपछि फर्कन बाध्य भए। लागत ८० हजार रुपैयाँ भए पनि गोर्खाजलाई १ लाख ३५ हजार तिरेका उनी नेपाल फर्केपछि सुधा हेल्थ केयर पुगेर सोधे। सुधाले ‘यो हाम्रो रिपोर्ट होइन, श्रम स्वीकृतिका लागि नक्कली बनाएर दिएको’ भन्दै फिर्ता पठाए। म्यानपावर पुग्दा क्षतिपूर्ति पाउने आश्वासन दियो तर रकम दिएन।
वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङले कतिपय एजेन्ट र म्यानपावर कम्पनीले नेपालमा मेडिकल फेल भएकालाई पनि जानाजान पठाउने गरेको बताए। कामदारलाई जानकारी नदिई फेल भएको रिपोर्टलाई पनि पास भएको बनाउँदै मलेसिया पठाउने गरेका कारण कामदारले सास्ती खेपेको उनको भनाइ छ। यसमा मेडिकल, एजेन्ट र म्यानपावर कम्पनी तीनवटैको संलग्नता भएको उनले स्वीकार गरे।
‘कमिसनका कारण एजेन्टले पहिले नै पासपोर्ट संकलन गर्ने र कामदार गाउँमै भए पनि काठमाडौंको मेडिकलमा गलत मेडिकल रिपोर्ट बनाउने गरेको पाइन्छ,’ तामाङले शनिबार नागरिकसँग भने, ‘त्यही गलत रिपोर्टका आधारमा भिसा मगाएर श्रम स्वीकृित लिने हुनाले मलेसिया जाने कामदारले स्वास्थ्य परीक्षणमा समस्या भोगिरहेका छन्।’
सुधा हेल्थ केयर प्रालिका सञ्चालक मदन खनालले पनि मेडिकलमा नक्कली रिपोर्ट बन्ने गरेको स्विकारे। ‘यो प्रक्रिया अहिलेबाट होइन, विगतदेखि नै चल्दै आएको छ। हामीले मात्र होइन, तपाई जुन मेडिकलमा गए पनि यो अवस्था पाउनुहुन्छ,’ उनले भने, ‘मलेसियाबाट फर्केर आएका कामदारले क्षतिपूर्ति पाउँछन्, त्यसैले यो प्रक्रिया चलिरहेको छ।’
स्वास्थ्य परीक्षण गर्दा कामदारबाट मेडिकल सेन्टरले २ हजार ६ सय २५ रुपैयाँ लिने गर्छन्। त्यही रकमबाट मेडिकलले म्यानपावर कम्पनी वा एजेन्टलाई १ हजार रुपैयाँसम्म कमिसन दिने गर्छ। म्यानपावर र एजेन्टले कमिसन बढी लिन थालेपछि मेडिकलले स्वास्थ्य व्यवसायी महासंघमा होलोग्राम (स्टिकर) वापत ५ सय तिर्ने र महिनाको अन्तिममा ३ सय फिर्ता लिने गरेका छन्। बाँकी २ सय भने क्षतिपूर्ति कोषमा जम्मा हुने गर्छ। त्यही कोषमार्फत मलेसियाबाट मेडिकल फेल भएर फर्केका कामदारलाई क्षतिपूर्तिवापत ४० हजार दिने गरिन्छ। मेडिकलका लागि कामदार दिने र फर्केपछि मेडिकल र म्यानपावरले पनि थप रकम दिने सम्झौता दुवैबीच हुन्छ। कामदार फर्केपछि दुवैले थप ४० देखि ६० हजार थपेर ८० हजारदेखि १ लाखसम्म क्षतिपूर्ति दिने गर्छन्।
‘एजेन्टले गाउँबाट पासपोर्ट संकलन गरेर ल्याई म्यानपावरलाई उपलब्ध गराउने र गाउँमा नै युवा भए पनि काठमाडौंमा नक्कली मेडिकल रिपोर्ट बनाएर म्यानपावरले त्यसैका आधारमा भिसा प्रक्रिया सुरु गर्छन्,’ म्यानपावर व्यवसायीसमेत रहेका तामाङले भने, ‘विदेशमा कामदार ठिक छ भन्ने पार्न पहिला नै नक्कली मेडिकल हुन्छ। पछि भिसा आएर वास्तविक मेडिकल गराउँदा फेल भए पनि म्यानपावरले लगानी गरेको हुँदा जानाजान पठाउने गर्छन्। फर्केर आएपछि मिलेर क्षतिपूर्ति दिने भन्ने सम्झौता हुन्छ, त्यसैले ढुक्कले पठाउँछन्।’
मलेसिया जानुअघि मेडिकल एजेन्ट र म्यानपावर मिलेर कामदारलाई उता स्वास्थ्य परीक्षण फेल भएर आएपछि मेडिकल र म्यानपावरलाई दोष नदिने सम्झौता गराएर हस्ताक्षर गराउँछन्। ‘मेडिकल फेल भएर आएपछि कसैलाई पनि दोष दिन्नँ भनेर पहिला नै कागजपत्र बनाएर मलेसिया पठाउँछन्, उता फेल भएर आयो यता खर्च भएको भन्दा पनि थोरै क्षतिपूर्ति दिन निवेदन माग्छन्, यो त झुक्काएर ठगी गरिएको हो, मलेसियाबाट फर्केका सापकोटाले भने।
नेपाल स्वास्थ्य व्यवसायी महासंघका उपाध्यक्ष विजया कोइरालाले केही मेडिकल र म्यानपावर कम्पनी मिलेर नक्कली रिपोर्ट बनाउने गरेको गुनासो आएको बताइन्। ‘यसबारे गुनासा आएका छन्, हामीले ती मेडिकलहरुलाई पनि सच्चाउन पहल गर्ने छौं,’ उनले भनिन्, ‘मलेसियाबाट बिरामी नभएका कामदारलाई पनि फिर्ता पठाउने काम भएकाले उतै पुगेर यसबारे छलफल गर्ने योजना पनि छ।’
महासंघका अध्यक्ष कैलाश खड्काले भने बायोमेटि्रक प्रणाली नभएका कारण मेडिकलमा यसखाले भद्रगोल भएको बताए। ‘सबै मेडिकलले राम्रोसँग काम गरेका छन् भन्ने होइन, त्यसलाई सिस्टममा लान बायोमेटि्रक प्रणाली आवश्यक छ,’ उनले भने। तर, खड्काले भनेजस्तो बायोमेटि्रक प्रणालीका विषयमा महासंघकै कार्यसमितिभित्र विवाद छ। ‘महासंघमा मेडिकलबारे उजुरी र गुनासो आएका छन्, हामी आफैं पनि अनुगमन गरेर सुधारको प्रयास गर्छौं,’ उनले भने।
मेडिकल, एजेन्ट र म्यानपावर व्यवसायीले खुल्लमखुल्ला स्वीकार्दै कामदारलाई ठगी गरे पनि सरकार भने अझै मौन छ। म्यानपावरले एउटा कामदारको मागबाट दोब्बर फाइदा लिने गरेको महासंघकै अर्का एक सदस्यले बताए। ‘८० हजार रुपैयाँमात्र लागत भए पनि डेढ लाखसम्म लिने र त्यो कामदार मेडिकल अनफिट भएर फर्केपछि त्यसको सट्टा अर्को पठाएर पैसा लिने गर्छन्,’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘त्यसैले मेडिकल फेल भएर फर्के पनि झन् फाइदा हुन्छ म्यानपावरलाई। म्यानपावरले कामदारलाई एक लाखसम्म क्षतिपूर्ति दिनेसम्मको सम्झौता मेडिकलसँग गर्छन्। मेडिकलले पनि आफूलाई आर्थिक भार नपर्ने भएपछि जानाजान फेल भएका कामदार पठाउने गरेका छन।’
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मेडिकल र म्यानपावर मिलेर कामदारको स्वास्थ्य परीक्षण गर्दा हुने लापरबाहीबारे मेडिकललाई सचेत गराइएको बताए। ‘अहिलेसम्म प्रमाणसहित कसैले उजुरी नगरेका कारण कारबाही हुन सकेको छैन। यसबारे श्रम र स्वास्थ्य मन्त्रालयसहितको विशेषज्ञ समिति छ, त्यसलाई अनुगमन गर्न निर्देशन दिन्छौं र नियमविपरीत भए कारबाही गर्छौं।’