मृत्युदण्ड पाएका दुई नेपालीलाई जोगाउने प्रयास

6 March, 2015

मलेसियामा मृत्युदण्डको सजाय सुनाइएका दुई नेपाली लाई जोगाउने प्रयास सफल हुन सकेको छैन। बासुन्चेत-१ नुवाकोटका हरिबहादुर घले र पाल्पाका सुरजबहादुर सुनारलाई यहाँका छुट्टाछुट्टै अदालतले मृत्युदण्डको फैसला सुनाएपछि स्थानीय नेपाली दूतावासले उनीहरूलाई मृत्युदण्डबाट बचाउन पहल गरेको थियो।

घलेलाई सन् २००९ को नोभेम्बर २६ मा यहाँको एक अदालतले लागूपदार्थ हेरोइन ओसारपसार गरेको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध यहाँको नेपाली दूतावास पुनरावेदन लिएर सर्वोच्च अदालतसम्म पुगेको थियो। 

सर्वोच्च अदालतले २०१२ को २५ सेप्टेम्बरमा अन्तिम फैसला गर्दै घलेलाई मृत्युदण्ड दिने निर्णय सुनाएको थियो।

घलेलाई बचाउने सबै कानुनी बाटो बन्द भएपछि नेपालका राष्ट्रपति डा. रामवरण यादवले उनलाई मृत्युदण्ड नदिन मलेसियाका राजालाई पत्राचार गरेका थिए। तर यहाँका राजाले यसबारे हालसम्म अन्तिम निर्णय नलिएको जानकारी नेपाली दूतावासकी प्रथम सचिव दु्रपता सापकोटाले दिइन्।

पाल्पाका सुनारलाई एक विदेशी महिलाको हत्या अभियोगमा यहाँको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको हो।सुनारका विषयमा यकिन विवरण आइनसकेकाले थप विवरण आएपछि पुनरावेदनका लागि प्रक्रिया अघि बढाइने जानकारी सापकोटाले दिइन्। 

मृत्युदण्डको फैसला सुनाइएका दुवैजना मलेसियाको काजाङ जेलमा छन्।            

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024