मलेसिया एयरपोर्टमा १६० नेपाली थुनिए

24 September, 2014

रोजगारदाता लिन नआएपछि मलेसियास्थित क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा एक सय ६० जना नेपाली कामदार महिनौंदेखि अलपत्र परेका छन्। अलपत्रमध्ये कतिपय कामदारको स्वास्थ्य स्थिति नाजुक बनेको छ। मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले अलपत्र परेका यी नेपाली कामदार क्वालालाम्पुर विमानस्थलस्थित डिटेन्सन क्याम्पमा बसिरहेको जानकारी दिए। ‘रोजगारदाता लिन नआउँदा विमानस्थलमा अलपत्र परेका कामदारलाई उद्धार गरी नेपाल फर्काउन पहल भइरहेको छ’, उनले मंगलबार अन्‍नपूर्णसँग भने।

यसबाहेक मलेसियाका विभिन्न सहरमा अन्य सयौं नेपाली कामदार जेलमा रहेका र अलपत्र परेका उनले बताए। अन्य स्थानमा पत्र परेकामध्ये अधिकांश गैरकानुनी कामदार छन्। गैरकानुनी कामदारलाई स्वदेश फिर्ता गर्न नेपाली दूतावासले विशेष पहल गरिरहेको छ। दैनिक दुई सय कामदारलाई स्वदेश फिर्ता गर्न ट्राभल डकुमेन्ट बनाउने गरिएको राजदूत बस्न्यातले बताए।

नेपालका मेनपावर कम्पनीले जान चाहने कामदारसँग चर्को शुल्क असुल्ने र नक्कली कम्पनीमा पठाउने प्रवृत्ति बढेको छ। वैदेशिक रोजगारीका क्षेत्रका समस्यामध्ये ७० प्रतिशतभन्दा बढी नेपालमै उत्पन्‍न हुने गरेको दूतावासका अधिकारीले बताए। वैदेशिक रोजगारीमा जान चाहने युवासँग गाउँगाउँमा पुगेर अग्रिम रकम असुल्ने र राहदानी नियन्त्रणमा लिने गिरोह पनि सक्रिय छन्। गैरकानुनी एजेन्ट र मेनपावर कम्पनीले कामदारसँग लागत खर्चभन्दा तेब्बर बढीसम्म रकम असुल्ने गरेका छन्।

मलेसिया जाने कामदारसँग ८० हजार रुपैयाँभन्दा बढी रकम लिन नपाउने नियम भए पनि दुई लाख ३० हजार रुपैयाँसम्म लिएको प्रमाण दूतावासमा रहेको जानकारी राजदूत बस्न्यातले दिए। ‘विशेषगरी सुरक्षा गार्डमा काम गर्न मलेसिया जाने कामदारसँग चर्को शुल्क असुल्ने गरेको पाइएको छ’, उनले भने।

गैरकानुनी काम गर्ने मेनपावर कम्पनीलाई कारबाही गर्न दूतावासले वैदेशिक रोजगार विभागलाई पत्र पठाए पनि त्यो कार्यान्वयन हुन सकेको छैन। मलेसियास्थित नेपाली दूतावासले केही महिनाअघि अवैध काम गर्ने तथा कामदारलाई ठग्ने मेनपावर कम्पनीको सूची वैदेशिक रोजगार विभागमा पठाएको थियो। त्यस्ता कम्पनीलाई कारबाही गर्नुको सट्टा तिनै कम्पनीबाट थप कामदार पठाउने गरिएको दूतावासका अधिकारीले बताए। कारबाही हुन नसक्नुमा अर्बौंको चलखेल हुनु र त्यो सबैतिर पुग्नु मुख्य कारण रहेको पनि राजदूत बस्न्यातले बताए।

हाल मलेसियामा करिब ३५ हजार नेपाली कामदार गैरकानुनी रूपमा बसिरहेको अनुमान छ। यस्ता कामदारलाई स्वदेश फिर्ता गर्ने क्रम सुरु भएको छ। मलेसियामा करिब सात लाख नेपाली कामदार रहेको अनुमान छ। मलेसिया सबैभन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा जाने मुलुकमा पर्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024