मलेसियामा ६ नेपालीको बेहाल

25 September, 2015

ओखलढुंगाका वीर सिंह तामाङलाई मलेसिया आउँदा राम्रै कमाइ हुन्छ भन्‍ने लागेको थियो। तामाङ १७ महिनाअघि एक कन्स्ट्रक्सन कम्पनीमा कामदार बन्न एक लाख ६५ हजार तिरेर मलेसिया आएका थिए। 

 

उनी अहिले कमाइ गर्नुको साटो समस्यामा परेका छन्। काठमाडौं बुद्धनगरस्थित राज ओभरसिजबाट मलेसिया आएका उनी अहिले तनावमा छन्।तामाङमात्र होइन, उनीसँगै रोजगारीका लागि आएका ६ नेपाली बिहीबार मलेसियास्थित नेपाली दूतावासमा ६ महिनासम्म काम गरेको तलब नपाएको भन्दै गुनासो गरिरहेका थिए। 

 

मलेसियाको क्वालालम्पुरमा रहेको बेगाम कन्स्ट्रक्सनले काम गरेको ६ महिनाको तलब नदिएको भन्दै उनीहरू दूतावासको शरणमा आएका हुन्। तामाङसँगै ओखलढुंगाका हस्तबहादुर तामाङ, खोटाङका कुमार खड्का, गोविन्द आचार्य, इन्द्रबहादुर भुजेल र धनकुटाका ताराबहादुर बुढाथोकी समस्यामा परेको भन्दै दूतावास आइपुगेका हुन्।

काठमाडौं बुद्धनगरस्थित राज ओभरसिजबाट मलेसिया आएका ६ जनालाई ६ महिनादेखि कम्पनीले काम गरेको तलब दिएको छैन।

कन्स्ट्रक्सन कम्पनीले १७ महिनामध्ये पछिल्लो ६ महिनाको तलब नदिएको खोटाङका गोविन्द आचार्यले बताए। ‘तलब नपाउँदा समस्यामा परेका छौं, खान पनि साथीहरूसँग माग्नुपरेको छ’, आचार्यले अन्नपूर्णसँग भने। समस्यामा परेका पीडितले मलेसियामा नै मर्नुपर्ने बाध्यता आएको बताए। दूतावासमा पुगेका उनीहरूले समस्या समाधान गरिदिन आग्रह गरेका छन्।

 

खाना खान भन्दै कम्पनीले दिएको दुई सय रिंगेट सकिएको र पछिल्लो समय काममा जान छोडेको पीडितले बताए। ‘तलब माग्दा पछि दिने भन्दै टार्छन्, खाना नै नखाई कसरी काम गर्ने?’, खोटाङका इन्द्र भुजेलले भने। भुजेलका अनुसार कम्पनीले अन्य देशका कामदारलाई तलब दिए पनि ६ नेपालीलाई दिएको छैन।

 

मलेसियामा राम्रो कमाइ हुने भन्दै राज ओभरसिजका निर्देशक पूर्ण राईले त्यो बेला आश्वासन दिए पनि अहिले तलब नै नपाएको पीडित बताउँछन्। पीडितका अनुसार म्यानपावरमा पटकपटक फोन गर्दा समस्या समाधान हुन सकेन। 

 

अहिले म्यानपावरले फोन नै उठाउन छोडको पीडित हस्तबहादुर तामाङले बताए।नेपाली दूतावास मलेसियाले भने पीडितको विषयमा कम्पनीसँग कुरा गरेर समस्या समाधानका लागि पहल गर्ने बताएको छ। 

 

मेलेसियामा राम्रो कमाइ हुने भन्दै पछिल्लो समय धेरै युवा आए पनि कम्पनीबारे प्रस्ट जानकारी नहुँदा नेपाली श्रमिक समस्यामा पर्दै आएका छन्। कामदार पठाउने नेपाली म्यानपावर कम्पनीले श्रमिकलाई दोहोरो कागजात दिने गरेकाले पनि उनीहरू समस्यामा पर्दै आएका हुन्।

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026