मलेसियामा तोडफोड आरोपमा ३९ नेपाली पक्राउ

28 August, 2014

रोजगारदाताको लापरबाहीले बिरामी सहकर्मीको मृत्यु भएको भन्दै आक्रोशित नेपाली कामदारले मलेसियाको जोहोर क्षेत्रस्थित जेसिवाई इन्टरनेसनल कम्पनीमा मंगलबार साँझ तोडफोड र आगजनी गरेका छन्।  प्रहरीले ३९ नेपालीसहित त्यहाँ कार्यरत ४२ कामदार पक्राउ गरेको छ।

गत बिहीबार झापा दहचोकका हर्कबहादुर निरौलाको छातिमा समस्या देखिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको थियो। बिरामी निरौलाको उपचारमा कम्पनीले ध्यान नदिएको र सहकर्मीले अस्पताल भर्ना गर्दा पनि बेवास्ता गरेको कामदारको आरोप छ। यही आक्रोशमा नेपालसहित अन्य मुलुकका कामदारले कम्पनीमा तोडफोड र आगजनी गरेको नेपाल मलेसिया वैदेशिक रोजगार समन्वय समितिका अध्यक्ष हरि भट्टराईले मलेसियाबाट टेलिफोनमा जानकारी दिए।

समिति अध्यक्ष भट्टराईले कामदारको मृत्युपछि आवेशमा आएका सहकर्मीले कम्पनी तोडफोड गरेको बताए। जेसिवाई कम्पनीमा नेपालीसहित अन्य देशका कामदार पनि रहेकाले आन्दोलनमा उनीहरु पनि संलग्न रहेको उनले बताए ।  तोडफोडमा नेपालीसहित बंगाली, इन्डोनेसियाली र बर्मेली कामदार संलग्न रहेको प्रहरीलाई उद्धृत गर्दै भट्टराईले जानकारी दिए। पक्राउ परेका नेपाली कामदार छुटाउन पहल भएको उनले बताए।

कम्पनीमा आन्दोलन र तोडफोड भएपछि क्वालालम्पुरस्थित नेपाली दूतावासका अधिकारी घटनास्थल पुगेका थिए। दूतावासका उपनियोग प्रमुख हेमलाल भट्टराई घटनास्थलमा पुगेर आन्दोलनरत कामदारलाई सम्झाएका थिए। राजदूत निरञ्जनमान बस्न्यातले सहकर्मीको मृत्युपछि उत्तेजित कामदारले तोडफोड गरेको र त्यसको अभियोगमा प्रहरीले ३९ नेपाली पक्राउ गरेको बताए। पक्राउ परेका कामदारमाथि अनुसन्धान सुरु भएकोले निर्दाेषलाई छुटाउन पहल भइरहेको उनले बताए। ‘हामीले नेपाली कामदारलाई संयमित रहन आग्रह गरेका छौं, प्रहरी र कम्पनीसँग पनि छलफल भइरहेको छ,’ उनले भने, ‘नेपाली कामदारलाई छोडिदिन्छु भनेका छन्।’

कम्पनीमा आठ हजारभन्दा बढी नेपाली कार्यरत रहेको र तोडफोड र आगजनीमा हजारभन्दा बढी संलग्न भएको कम्पनीले जनाएको दूतावासले जानकारी दियो। जेसिवाई इलेक्ट्रोनिक कम्पनी हो। यसले सामसङ, हिटाची र वेस्टर्न डिजिटल पार्टस् उत्पादन गर्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024