चार महिनाको अवधिमा मलेसियामा एक सय ६६ नेपालीको मृत्यु भएको छ। रोजगारीका सिलसिलामा आएका नेपालीमध्ये पछिल्लो चार महिनामा विभिन्न कारणबाट नेपालीको मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। दूतावासबाट बिहीबार जारी विज्ञप्तिमा जुलाईमा ३६ जना, अगस्टमा ३९ जना, सेप्टेम्बरमा ४४ जना, अक्टोबरमा ३३ जना र १५ नोभेम्बरसम्म १४ जनाको मृत्यु भएको छ। उनीहरूको शव नेपाल पठाइसकिएको दूतावासले जनाएको छ।
मलेसियामा मृत्यु भएकालाई क्षतिपूर्ति तथा बिमा उपलब्ध गराउने सम्बन्धमा पनि पहल गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। सुतेको अवस्थामा मृत्यु हुने नेपालीको संख्या बढी रहेको दूतावास स्रोतले जनाएको छ। यसैगरी मलेसियाका विभिन्न जेल र डिटेन्सन क्याम्पमा रहेका सात सय ६४ नेपालीलाइ उद्धार गरी नेपाल फर्काइएको दूतावासले जनाएको छ। विभिन्न जेल र डिटेन्सन क्याम्पमा अझै पाँच सय५ ९ नेपाली रहेका छन्।
उनीहरूलाई पनि चाँडै नेपाल फर्काउन पहल भइरहेको राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातले जानकारी दिए। मलेसियाको जेलमा तीन सय २२ र डिटेन्सन क्याम्पमा दुई सय ३७ नेपाली रहेको दूतवासले जनाएको छ। दूतावास स्रोतका अनुसार लागूपदार्थ ओसारपसारको अपराधमा दोषी ठहर गरी १७ वर्षदेखि इन्डोनेसियाको जेलमा राखिएका सत्यदेवी ५ धादिङका बुधे तामाङलाई पनि उद्धार गरी एकतर्फी यात्रा अनुमतिपत्र दिएर नेपाल फर्काइएको छ।