मलेसियामा एमआरपी बाँड्न सम्पर्क कार्यालय

13 January, 2015

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले दिएको समयसीमाभित्र हस्तलिखित राहदानी विस्थापित गर्नका लागि मलेसियास्थित नेपाली दूतावासले जोहोरबारुमा सम्पर्क कार्यालय खोलेको छ। मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्नेतले सोमबार सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।

आइकाओका अनुसार सन् २०१५ नोभेम्बर २४ भित्र हस्तलिखित राहदानी विस्थापित गरिसक्नुपर्नेछ। सोही दिनबाट सम्पूर्ण हस्तलिखित राहदानी काम नलाग्ने हुनेछन् भने त्यस्ता राहदानीबाहक अवैध। यसैकारण दूतावासले हस्तलिखित राहदानी विस्थापन गरी कामदारलाई मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) उपलब्ध गराउन नेपालीको संख्या बढी रहेको जोहोरबारुमा सम्पर्क कार्यालय खोलेको हो। 

मलेसियास्थित नेपाली दूतावासका अनुसार जोहोरबारु क्षेत्रमा २ लाख भन्दा बढी नेपाली कार्यरत छन्। करिब ७ लाख नेपाली रहेको मलेसियामा अझै पनि डेढ लाख नेपालीसँग हस्तलिखित राहदानी रहेको अनुमान छ। चार वर्षको अवधिमा मलेसियास्थित दूतावासले ३६ हजार ९ सय ४८ हस्तलिखित राहदानी विस्थापित गरेको छ। दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै जोहोरबारु क्षेत्रमा रहेका नेपालीलाई सम्पर्क कार्यालयमा आई हस्तलिखित राहदानीलाई एमआरपीमा प्रतिस्थापन गर्न आह्वान गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024