मंसिर १० बाट ५० करोड रुपैयाँको बैदेशीक रोजगार बचत पत्र जारी हुने

21 November, 2017

राष्ट्र बैंकले मंसिर १० गतेबाट ५० करोड रुपैयाँ बराबरको बैदेशीक रोजगार बचत पत्र जारी गर्ने भएको छ ।  बैदेशीक रोजगारीमा रहेका वा रोजगारीबाट नेपाल फर्किएको ४ महिना नपुगेका नेपाली तथा गैर आवासीय नेपाली (एनआरएन) यस्तो बचत पत्र किन्न सक्नेछ । उनीहरुका परिवार (बुबा, आमा, श्रीमान, श्रीमति र छोराछारी) ले समेत बचत पत्र किन्न पाउने भएका छन् । यो बचत पत्रको बिक्री मंसिर २९ गतेसम्म चल्नेछ ।

 

बचत पत्र खरिद गर्दा कम्तिमा पाँच हजार रुपैयाँ र बढिमा पाँच हजारले भाग गर्न सकिने रकमको आधार लगानी गर्न सकिने व्यवस्था छ । नेपालमा सिटिजन्स, एनएमबी, नबिल, माछापुच्र्छे, प्रभु, सनराइज,सिद्धार्थ, सानिमा, सेञ्चुरी कमर्सियल बैंकमार्फत खरिद गर्न सकिन्छ । त्यस्तै, प्रभु मनि ट्रान्सफर, सिटी एक्सपे्रस, आईएमई लिमिटेड, सेवा रेमिट समेतबाट खरिद गर्न सकिनेछ ।

 

देशबाहिरका देशहरु मलेशिया, कतार, कुवेत, युएइ, जापान, साउदी अरब, कोरिया, इराक, भारत, अमेरिका, दक्षिण कोरिया र इजरायलबाट पनि बचत पत्रमा लगानी गर्न सकिने व्यवस्था छ । यी देशहरुमा आइएमइ लिमिटेड, सिटी एक्सपे्रस,प्रभु बैंक, प्रभु मनि ट्रान्सफर, सेञ्चुरी कमर्सियल बैंक र सनराइज बैंकले बचत पत्र बिक्री गर्ने व्यवस्था मिलाएको छ ।

 

बार्षिक १० प्रतिशत व्याजदर पाइने यस्तो बचत पत्रको व्याजमा कर समेत नलाग्ने व्यवस्था रहेको छ । ६/६ महिनाको दरमा व्याजदर पाइने यस्तो बचत पत्र बैंक तथा वित्तीय संस्थामा धितोमा राखेर कर्जा लिन पनि सकिनेछ । व्याज आफैले लिनुपर्छ भने छैन्, आफुले इच्छाइएको व्यक्तिलाई पनि भुक्तानी दिने व्यवस्था रहेको छ । ५ वर्षसम्म बचत पत्रको अवधि कायम रहनेछ भने त्यसपछि खरिदकर्ताले साँवा फिर्ता पाउने छन् ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024