दक्षिण कोरियाले एसियाली मुलुकबाट कामदार लैजाने रोजगार अनुमति प्रणाली ईपीएसको छनोट विधिमा सुधार ल्याउने भएको छ । निर्धारित अवधिका लागि रोजगारी र प्रशिक्षणका लागि कामदार लैजाने विद्यमान प्रक्रियामा अबको दुई वर्षभित्रै व्यापक फेरबदल गरिने कोरियाली मानव संसाधन विभागका प्रतिनिधि किम की उकले बताएका छन् ।
ईपीएसका लागि पोखरा क्षेत्रबाट फारम भरेका ५ सय १७ जनाको असोज १४ देखि चार दिन चल्ने दक्षता परीक्षाका लागि यहाँ आएका उनले भने ‘नेपालीको भाषिक दक्षताको स्तर निकै राम्रो छ । तर, अब हामीले भाषा राम्रो भनेरमात्रै पठाउनुको साटो कुनै खास प्राविधिक काममा दक्षलाई प्राथमिकता दिने नीति लिएका छौं ।’ कोरियाली सरकारको मानव संसाधन विभागले नेपाल सरकारसँगको समन्वयमा वर्षेनी नेपाली कामदारलाई निश्चित अवधिका लागि उता लैजाने गरेको छ । यसका लागि हालसम्म भाषा प्रशिक्षण लिने र राजधानीमा गएर फारम भर्ने, परीक्षा दिने र नतिजा आएपछि लैजाने विधिमा सन् २०१९ बाट पुरै फेरबदल हुने जानकारी उनले दिए ।
‘अनलाइनबाट फारम भर्न मिल्ने, परीक्षाका लागि सुविधा सम्पन्न हलको व्यवस्था र कुनै खास प्रकारको दक्षतालाई प्राथमिकता दिने आधार तय गरेका छौं,’ कोरियाली प्रतिनिधि उकले भने, ‘अबको दुई वर्ष हामी त्यसको आधारको तयारीमा छौं ।’ नेपालबाट भाषा परीक्षा उत्तीर्ण गरेर गएपनि कोरियामा रोजगारदाताले खोजेको प्रकारको दक्षता नपाउँदा काम दिलाउन समस्या आउन थालेको उनले बताए ।