कञ्चनपुर — कैलालीको चुरे गाउँपालिका १ का १३ वर्षीय मानबहादुर विकका आमा र बुवा बिरामी छन् । घरमा कमाउने कोही छैन । गाउँकै दाईले भारतको रुद्रपुरमा सामान प्याकिङको राम्रो काम पाइने तर त्यसका लागि २३ हजार भारु जम्मा गर्नुपर्ने भनेपछि उनले ४० हजारमा घरखेत धितोमा राखेर ऋण निकाले ।
त्यसपछि उनी पुगे भारत उत्तराखण्डको रुद्रपुर । गाउँकै दाईको सम्पर्कमा रुद्रपुर पुगेका उनलाई सुरुमा एउटा होस्टेलमा राखियो । त्यहाँ केही दिन प्रशिक्षण दिएजस्तो गर्यो । त्यसपछि उनलाई नजिकैको एउटा घरमा लगियो । जहाँ अन्य नेपाली पनि थिए । उनीसँग भएको मोबाइल पनि थुतियो । त्यहाँ नत खाना राम्रो न बस्ने व्यवस्था नै ।
‘मेरा घरमा आमा बुवा र दिदी मात्रै छन्, आमा बुवा बिरामी छन्, कमाई गर्ने कोही छैन,’ एक महिना बन्धक भएर उद्धार गरिएपछि बुधबार घर फर्किने क्रममा गड्डाचौकी नाकामा पुगेका विकले भने, ‘सजिलो काम छ, राम्रो कमाई छ भनेपछि घरखेत धितो राखेर त्यहाँ गएँ, कमाई त के जेलमा बसेजस्तो भयो ।’
घर फर्किन पाएको खुसी भए पनि उनका आँखा भने रसाएका थिए । कास्कीको अन्नपूर्ण गाउँपालिका १ का २० वर्षीय विशाल बुढाथोकी तीन महिनाअघि रुद्रपुर पुगेका थिए । उनलाई धरानकै नविन भन्नेले फोन गरेर राम्रो तलब पाइने भनेका थिए । त्यसअघि नविनकै मोबाइलबाट वीरेन्द्र शाही नाम गरेका नेपालीले नै उनीसँग म्यासेजमा कुराकानी गरेका थिए ।
‘वीरेन्द्रले रुद्रपुसम्मको टिकेट काटेको हो, भैरहवा नाकाबाट उता गएको थिए,’ बुढाथोकीले भने, ‘महिनाको २३ हजार भारु तलब पाइन्छ, दिनदिनै मटन चिकन खान पाइन्छ, प्याकिङको काम छ, यस्तै भनेको थियो ।’ उनले रुद्रपुर पुग्नेबित्तिकै सुरुमा २३ हजार भारु शाहीलाई दिएका थिए ।
दिनमा र राति पनि फोन तथा म्यासेजबाट बोलाउन थालेपछि उनी पनि राम्रो तलबको लोभमा फसे । रुद्रपुर पुगेको एक हप्तासम्म राम्रै खाना र बस्न दिइयो । त्यसपछि अन्य नेपाली भएको कोठामै हुलेर कैदी जस्तै बनाएको उनी बताउँछन् । उनलाई पनि शाहीले आफ्नो मोबाइलबाट अरु साथीलाई बोलाउन भन्थे । जति धेरै जना बोलायो त्यति नै राम्रो तलब आउने भन्दै प्रलोभन दिने । साथिलो फोन गरेर बोलाउने समयमा मात्रै फोन दिने र अन्य समयमा आफैंले राख्ने गरेको उनले बताए ।
एनका दाई सुमन बुढाथोकी पनि ४ महिनाअघि नै रुद्रपुर पुगेका थिए । उनीहरुलाई एक महिना करिब रुद्रपुरमा राखेर त्यसपछि काशीपुर पुर्याइएको थियो । काशीपुर पुर्याएपछि भने कुटपिट गर्ने र झुण्ड्याएर यातनासमेत दिने गरेको उनले बताए ।
मानबहादुर र विशालजस्तै १८ जिल्लाका ५७ जनालाई बन्धक बनाएको अवस्थामा किन इण्डियाले स्थानीय प्रहरीको सहयोगमा यसै साता उद्धार गरेको हो । भारतीय प्रहरीको सहयोगमा नेपालीहरुलाई बन्धक बनाएको घरमा छापा हानेर उद्धार गरिएको किन ईण्डियाका नविन जोशीले बताए । उनका अनुसार सुरुमा काशीपुरबाट ३५ जनाको उद्धार गरिएको थियो ।
अर्को दिन रुद्रपुरमा छापा हान्ने तयारी थियो तर बन्धक बनाउनेहरुले ठेगाना परिवर्तन गरेर जंगलको बीचमा रहेको घरमा पुर्याएको उनले बताए । करिब २५/३० किलोमिटर पिछा गरेर २२ जनाको उद्धार गरिएको उनले बताए ।
एक महिनाअघि बन्धक बनाइएकै अवस्थामा ताप्लेजुङका २७ वर्षीय सोम लिम्बूको मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा मुद्दा दर्त्ता भयो ।
त्यसपछि ताप्लेजुङको जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा जानकारी गराए । उक्त जानकारी परराष्ट्र मन्त्रालय हुँदै दिल्लीस्थित नेपाली दूतावासमा पुग्यो । त्यसपछि मात्रै रुद्रपुर र काशीपुरमा नेपालीहरु बन्धक भएको कुरा बाहिर आएको किन इण्डियाका जोशी बताउँछन् ।
‘यो कुरा हामीसम्म पुगेपछि हामीले धेरै पटक बुझ्ने, हेर्ने र रेकी गर्ने काम गर्यौं,’ जोशीले भने, ‘सबै कुरा क्लियर भएपछि उत्तराखण्ड प्रहरीको सहयोगमा हामीले काशीपुरमा रेट हान्यौं ।’ उनका अनुसार त्यतिबेला बन्धक बनाइएका नेपालीहरुलाई लाइन लगाएर आफन्तलाई फोन गराउने काम भइरहेको थियो । वरिपरि डराउनका लागि बाउन्सरहरु राखिएका थिए ।
सुरुमा नेपालीहरु बोल्न डराइरहेका थिए । बन्धक बनाउने वीरेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएपछि सबै आक्रोशित भएर आफ्नो पीडा पोख्न थाले ।
जोशीका अनुसार तीन वटा स–साना कोठामा ३२ जनालाई राखिएको थियो । ३ जना त्यही दिन बिहान खेतै खेतबाट भागेका थिए । उनीहरु पनि त्यही दिन साँझ सम्पर्कमा आए । भित्र बस्ने र सुन्ते ठाउँसम्म थिएन । यस्तै गरी रुद्रपुरमा पनि निरन्तरको रेकीपछि रेट हान्न सफल भएको उनले बताए ।
वीरेन्द्र शाही डोटीका भएको जोशीले बताए । वीरेन्द्रसँगै मनिस तिवारी नाम गरेका व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेर मुद्दा प्रक्रिया अघि बढाएको जोशीले बताए । उनीहरुबाट केही कागजातहरुसमेत बरामद भएको उनले बताए । शाहीले २०१८ बाट नेपालीहरुलाई बोलाएर पैसा लिने र अरुलाई बोलाउन लगाउने गरेको पाइएको उनले बताए ।
जोशीका अनुसार उत्तराखण्डको विभिन्न स्थानमा यसरी बन्धक बनाऊने अन्य स्थान पनि भएको जानकारी आएको र अहिले उनीहरुको भागाभाग चलेको बताए । बन्धक बनाएको मध्ये एक/डेढ सयलाई घरतर्फ पठाएको जानकारी समेत आएको उनले बताए ।
काशीपुर र रुद्रपुरबाट उद्धार गरिएकाहरुलाई बुधबार गड्डाचौकी नाका हुँदै नेपाल ल्याइएको छ । उनीहरुले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बरबहादुर विश्वकर्माले नाकामै स्वागत गरे । उद्धार गरी ल्याइएकाहरुलाई अहिले महेन्द्रनगरमै राखिएको छ । उनीहरुलाई खाना र बस्ने व्यवस्था कञ्चनपुर उद्योग वाणिज्य संघले गरेको छ भने घरसम्म पुर्याउनका लागि महाकाली यातायात प्रालिसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।