बैंककमा अपहरणमा परेका तीन नेपाली मुक्त

24 December, 2014

थाइल्यान्डको बैंककमा शुक्रबार अपहरणमा परेका तीन नेपाली विद्यार्थी अपहरण मुक्त भएका छन्। बैंकक प्रहरी र नेपाल प्रहरीको संयुक्त कारबाहीमा अपहरणकारी पक्राउ पर्नुका साथै उनीहरू मुक्त भएका हुन्। थाइल्यान्डको एजप्सन विश्वविद्यालयमा पढिरहेका कर्ण हाछेथु, दिवस रिजाल र रोनिश श्रेष्ठ अपहरणमा परेका थिए। शुक्रबार विश्वविद्यालयबाट घुम्न ट्याक्सीमा निस्किएका उनीहरू सम्पर्कविहीन भएका थिए। अपहरणकारीले शनिबार ती विद्यार्थीका नेपालमा रहेका अभिभावकलाई फोन गरी प्रतिव्यक्ति एक लाख थाई भाट फिरौती मागेपछि मात्रै उनीहरू अपहरणमा परेको खुलेको थियो।

अपहरणको जानकारी आएपछि बैंकक प्रहरीसँग समन्वय गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी पिताम्बर अधिकारी बैंकक गएका थिए। संयुक्त कारबाहीमा अपहरणकारीलाई पक्राउ गरी अपहरणमा परेका तीनै नेपाली विद्यार्थीलाई मुक्त गराइएको ब्युरोका डिआइजी हेमन्त मल्लले पुष्टि गरे। घटनाबारे प्रारम्भमा थाइल्यान्डमा रहेको नेपाली दूतावासका अधिकारीले जानकारी पाएका थिए। लगत्तै नेपाल प्रहरीमा सो घटनाबारे जानकारी पुगेपछि थाई सुरक्षा निकायसँग समन्वय गरी अपहरित र अपहरणकारीको खोजी सुरु गरिएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024