बिहे गराइदिएर चीन पुर्‍याउने र यौन व्यवसायमा लगाउनेमा संलग्न एक पक्राउ

21 May, 2024

बिहेको बहानामा चीन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जना महिलालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए।

पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका वडा नम्बर १ स्थायी ठेगाना भएकी ४३ वर्षीया मनमाया घले छिन्। उनी चीनको हेलोङजियाङ प्रान्तको हार्बिन सहरमा बसोबार गर्थिन्।

प्रहरीका अनुसार उनले एक जना महिलालाई चिनियाँ नागरिकसँग बिहे गर्न प्रलोभनमा पारेकी थिइन्।

चिनियाँसँग बिहे गरे ग्रीनकार्ड बनाउन मिल्ने, भविष्य सुनौलो हुने प्रलोभनमा पारेको अनुसन्धानमा देखिएको छ।

मनमायाले चिनियाँसँग मिलेर पीडित महिलालाई काठमाडौं जिल्ला अदालतमा लगेर २०७९ चैत १३ गते बिहे गराइदिएकी थिइन्। बिहेपछि उनले पीडितलाई २०८० वैशाख १ गते नेपालबाट चीन पुर्‍याइन् र आफू नेपाल फर्किइन्।

चीनमा पुगेपछि चिनियाँले पीडित महिलालाई जबरजस्ती यौन व्यवसायमा लगाएको एसपी मिश्रले बताए।

पक्राउ परेकी मनमायाले ती महिलालाई बिहे गराएर बेचेबापत ५ लाख रूपैयाँ लिएको खुलेको छ।

यसरी महिलालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएपछि उनले नेपालमा आफन्तलाई सम्पर्क गरेकी थिइन्। त्यसपछि चीनस्थित नेपाली दूतावासको समन्वयमा २०८० असार १ गते उनको उद्धार गरी नेपाल फिर्ता ल्याइएको हो।

एसपी मिश्रका अनुसार केही समयअघि यसरी मानव बेचबिखन गर्ने ‘ट्रेन्ड’ नै चलेको थियो।

‘पहिले बिहेको प्रलोभनमा पार्ने र चिनियाँले बिहे गरी लगेर जबरजस्ती गलत क्रियाकलापमा लगाउने गरेको देखिन्थ्यो। अहिले फेरि यस्तो घटना भएको छ,’ उनले भने, ‘अहिलेसम्म एउटा मात्रै जाहेरी आएको छ। अनुसन्धानबाट थप खुल्छ।’

उनका अनुसार पक्राउ परेकी मनमायाले पनि चिनियाँ नागरिकसँग बिहे गरेकी छन्। उनले यी पीडितबाहेक अरूलाई लगे/नलगेको भने खुलेको छैन।

यो काममा संलग्न अन्यको पनि प्रहरीले खोजी गरिरहेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024